गृहमन्त्री खाण, फाइल तस्बिर
जनकपुर– गृहमन्त्री बालकृष्ण खाणले सरकार न्यायालय (सर्वोच्च अदालत)भित्र देखिएको विवाद छिटोभन्दा छिटो समाधान होस् भन्ने पक्षमा रहेको बताएका छन्। न्यायपालिकाभित्र देखिएका समस्या संवेदनशील र गम्भीर रहेको उल्लेख गर्दै गृहमन्त्री खाणले सरकार सो समस्या छिटोभन्दा छिटो समाधान होस् भन्ने पक्षमा रहेको प्रष्ट्याए।
सोमबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीको प्रश्नमा गृहमन्त्री खाणले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका शक्ति सन्तुलनको हिसाबले पनि स्वतन्त्र ढंगले चल्ने बताए।
‘न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका ३ वटा अंगहरु स्वतन्त्र छन्। र, शक्ति सन्तुलनको हिसावले पनि ती अंगहरु स्वतन्त्र ढंगले नै चल्दछन्,' खाणले भने, 'न्यायपालिकामा जुन खालको विवाद देखिएको छ, त्यो संवेदनशील र गम्भीर छ। त्यो विवाद छिटोभन्दा छिटो सुल्टियोस् भन्ने हाम्रो चाहना छ।'
सरकारले नागरिकता विधेयक पनि छिटोभन्दा छिटो पास गर्न चाहेको मन्त्री खाणको भनाइ छ। मन्त्री खाणले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई अवरुद्ध सदन सूचारु गराउन पनि आग्रह गरे।
नागरिकतालगायतका महत्वपूर्ण विधेयकहरु पास गर्न सदन सुचारु गराउन ढिलाइ गर्न नहुने गृहमन्त्री खाणको भनाइ थियो।
'नागरिकता ऐन हामी छिटोभन्दा छिटो पास गर्न चाहन्छौं। किनकि नागरिकताको समस्यालाई हामीले संवेदनशील रुपमा लिएका छौं। म मूल प्रतिपक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई आग्रह गर्न चाहन्छु सदनलाई व्यवस्थित रुपमा चलाऔं,' खाणले भने।
गृहमन्त्री खाणले नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।