फाइल तस्बिर।
काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले सतर्क रहन आग्रह गरेको छ। सोमबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जाडो मौसम सुरु भएसँगै चिसो बढ्दै गएकोले चिसोबाट बच्न सतर्क रहनुपर्ने बताएका हुन्।
उनले गत १० दिनको तापक्रम हेर्दा काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको बताए। वरिष्ठ मौसमविद् पौडेलका अनुसार गत १० दिनमा काठमाडौंको तापक्रम १७ डिग्रीबाट ८ डिग्री सेल्सियससम्म झरेको छ।
उनले कार्तिक महिनामा नै जुम्लाको तापक्रम माइनस वान डिग्री सेल्सियससम्म पुगेको जानकारी दिए। आगामी दिनमा काठमाडौं उपत्यकाको तापक्रम घटेर माइनस वा जिरो डिग्री सेल्सियससम्म पुग्ने अनुमान महाशाखाले गरेको छ।
वरिष्ठ मौसमविद् पौडेलले भारत र चीनमा प्रदूषण बढिरहेकोले नेपालमा पनि जाडो याममा मुख्य शहरहरुमा प्रदूषण बढ्न सक्ने बताए। उनले लामो समयसम्म खडेरी भएमा प्रदूषण वायु मण्डल नजिकै बस्ने र हावा नचल्ने भएकोले काठमाडौं लगायत वीरगञ्ज, धनगढी, नेपालगञ्ज, र जनकपुर जस्ता शहरहरुमा आगामी दिनमा प्रदूषण बढ्ने बताए।
वरिष्ठ मौसमविद् पौडेलले प्रदूषणबाट बच्न स्थानीय, प्रदेश र केन्द्र सरकारले अहिलेदेखि नै तयारीमा लागेर जनधनको क्षति हुन नदिनेतर्फ जुट्नुपर्ने बताए। उनले जाडोलाई मध्यनजर गर्दै त्यसबाट बच्नका लागि सरकारले तयारी थाल्नुपर्ने बताए।
वरिष्ठ मौसमविद् पौडेलले जाडो याममा बढी नै प्रदूषण हुने भएकाले घरबाट ननिस्किन, मर्निङ वाकमा नजान र बालबालिका, वृद्धवृद्धालाई चिसोबाट बचाउने उपाय अपनाउन सुझाव दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।