फाइल तस्वीर
विराटनगर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतका सबै न्यायाधीश राजीनामा दिनुपर्ने खालका भएको बताएका छन्। सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले सर्वोच्च अदालतका कुनै पनि न्यायाधीशले अदालतको मर्यादा पूरा नगरेको बताए।
‘अदालतमा सबै राजीनामा दिने खालका हुनुहुन्छ, अदालतको मर्यादा कसैले पनि पूरा गरेको छैन,’ ओलीले भने।
ओलीले अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा मात्रै राजीनामा दिनुपर्नेमा नभइ अरु न्यायाधीशले राजीनामा दिनुपर्ने बताए। ‘राजीनामा दिनुपर्नेमा प्रधानन्यायाधीशमात्र होइनन्। जो जससँग सम्बन्धित छ/छन् सबै हुन्,’ ओलीले भने।
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सर्वोच्च अदालतले गत असार २८ गते प्रतिनिधि सभा पुन:स्थापनासँगै गरेको परमादेशले न्याय मरेको समेत टिप्पणी गरे।
‘जनताको सार्वभौम सत्ता खोसेर अदालतमा दिने खालका असंवैधानिक र अन्यायपूर्ण फैसला भएर न्याय त मरेकै थियो नि ! तपाईंहरूले थाहा पाउनु भएन?' ओलीले सञ्चारकर्मीसँग भने, 'त्योबेला तपाईंहरूले थाहा पाउनुभएनछ, अहिले अलिअलि छताछुल्ल भएपछि थाहा पाउन थाल्नुभएछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।