काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीशहरु बेग्लै छलफलमा रहेका बेला न्यायाधीश कुमार चुडालले भने सोमबार मुद्दा हेरेका छन्।
न्यायाधीश चुडालले आफ्नो एक इजलासमा तोकिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै आदेश जारी गरेका छन्।
जिल्ला अदालत रुकुम पूर्वले जारी गरेको एक आदेशविरुद्ध दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमा चुडालको इजलासले कारण देखाउ आदेश जारी गरेको छ।
यसअघि आफूहरुसँग भएको सहमति विपरीत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पेसी तोकेको भन्दै अरु न्यायाधीशहरु बेग्लै छलफलमा छन्। आन्दोलन सुरु गरेको केही दिनपछि बन्दीप्रत्यक्षीकरणका रिट हेरेका न्यायाधीशहरु सोमबार भने इजलासमा गएका छैनन्।
सोमबार प्रधानन्यायाधीश जबराले ४ वटा संयुक्त र २ एकल गरी ६ वटा इजलास गठन गरेका छन्। प्रधानन्यायाधीश जबराले सोमबार आफू र न्यायाधीश चुडालको संयुक्त इजलास समेत तोकेका छन्। तर, चुडाल जबरासँगको इजलासमा बस्ने नबस्ने भन्ने बारे भने टुंगो लागिसकेको छैन।
जबराले यसअघि आफूलाई पेसी नतोक्ने र न्यायाधीशहरूलाई पनि बन्दी प्रत्यक्षीकरणको मात्र पेसी तोक्ने सहमति गरेका थिए। तर, उनले आफूसहितको संयुक्त इजलास तोकेको भन्दै न्यायाधीशहरू छुट्टै छलफलमा जुटेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।