काठमाडौं- नेकपा एमालेले अन्तरपार्टी निर्देशन (अपानि) – १४ जारी गरेको छ। दशौं राष्ट्रिय महाधिवेशनका लागि जारी गरिएको अपानि-१३ का सम्बन्धमा बुझाइ र कार्यान्वयनमा एकरुपता कायम गर्न अपानि १४ जारी गरिएको बताइएको छ। अपानि १४ मा दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिको निर्वाचनको मापदण्डबारे निर्देशन दिइएको छ।
२०७७ चैत मसान्तसम्मका पार्टी सदस्य मात्रै राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचनका लागि मतदाता हुने अपानिमा उल्लेख गरिएको छ। साथै प्रतिनिधिहरुको निर्वाचन केन्द्रीय संगठन विभागबाट अभिलिखित पार्टी सदस्यताको विवरणको आधारमा गरिने छ। २०७८ कात्तिक २७ गते स्वदेश तथा प्रवासमा एकैसाथ प्रतिनिधि निर्वाचन गरिने छ।
एउटा पार्टी सदस्यले एउटा निर्वाचन क्षेत्रमा मात्र प्रतिनिधि चुन्ने/चुनिने अधिकार प्रयोग गर्न पाउने छ। पदेश प्रतिनिधि हुने पार्टी सदस्य प्रतिनिधि चयन प्रक्रियामा सहभागी नहुन अपानिमार्फत् निर्देशन दिइएको छ।
केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारीसमेत सदस्यहरु मध्येबाट हुने प्रतिनिधि निर्वाचनको व्यवस्थापन केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्षले गर्नेछन्। प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्यहरु मध्येबाट हुने प्रतिनिधि निर्वाचनको व्यवस्थापन सम्बन्धित प्रदेश वा सो सरहका कमिटीले गर्नेछन्।
त्यस्तै, प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्तर्गतका सदस्यहरु मध्येबाट हुने प्रतिनिधि निर्वाचनको व्यवस्थापन सम्बन्धित जिल्ला कमिटीले गर्नेछन्। देशभित्रका विशेष जिल्ला अन्तर्गतका प्रतिनिधि निर्वाचनको व्यवस्थापन सम्बन्धित विशेष जिल्ला कमिटीले गर्नेछन्।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।