काठमाडौं- नेपाल बार एसोसिएसनका उपाध्यक्ष ईश्वरी प्रसाद भट्टराईले न्यायपालिकाको गरिमा, स्वतन्त्रताका विषयमा झण्डै साढे २ वर्षदेखि आन्दोलन गरिरहेको बताएका छन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बारको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसका लागि १९ बुँदामा ध्यानाकर्षण गराएको समेत स्मरण गरे।
'हामीले प्रारम्भदेखि नै उठाएका विषयमा धेरै धैर्यधारण गर्यौं। न्यायाधीशको नियुक्ति प्रक्रियालाई सुधार्न भन्यौं। हामीले धेरै पटक स्मरण गरायौं', उनले भने, 'अटोमेसन लागू गरौं भन्यौं। तर, अहिलेसम्म त्यो गरिएन। न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदनका आधारमा गोलाप्रथा लागू गर्ने कुरादेखि लिएर विभिन्न विषय उठान गरिएको थियो। तर, ती विषयमा पनि केही ध्यान दिइएन।'
उनले प्रधानन्यायाधीश राणाले न्यायाधीशहरूको विश्वास जित्न नसकेको पनि बताए। फुलकोर्टको बैठक समेत राख्न नसकेको उनले बताए।
'अहिले विसंगति र विकृतिको कारण प्रधानन्यायाधीश मात्रै होइन। तर, उहाँ मुख्य जिम्मेवार व्यक्ति हो। न्यायपालिकामाथि हस्तक्षेप गर्ने काम भएको छ। राजनीतिक दलहरुको हस्तक्षेपको विरुद्ध पनि हामीले यो आन्दोलन गरेका हौं', उनले भने, 'तपाईं न्यायापालिकाको नेतृत्वमा रहेको व्यक्ति राजनीतिक दलबाट उपयोग हुनुभयो। राजनीतिक दलहरु अहिले कानमा तेल हालेर बसिरहनुभएको छ। उहाँहरुले सुन्नुपर्छ कि पर्दैन?'
न्यायापालिकाको स्वतन्त्रताका लागि राजनीतिक दलहरूले केही भूमिका नखेले आन्दोलन उनीहरूका विरुद्ध पनि जान सक्ने भट्टराईले बताए।
'अहिले तोकिएको घेराभन्दा बाहिर गएर पनि आन्दोलन हुन सक्छ। प्रधानन्यायाधीशले अहिले राजीनामा दिनु भयो भने उहाँलाई नै अवसर हो। न्यायपालिकाको सुदृढीकरण र गरिमा कायम राख्नका लागि बार जस्तोसुकै आन्दोलन अघि बढाउन सक्छ', उनले भने।
उनले बार अब कुनै पनि हालतमा पछि नहट्ने भट्टराईले बताए। 'हामी देशभर नै आन्दोलनलाई अघि बढाएर लैजाने विषयमा छलफल गरिरहेका छौं। एउटा निर्णय गरेर हामी अघि बढने छौं', भट्टराईले थपे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।