फाइल तस्बिर
काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारको समयमा भएका कामबारे कसैले भ्रमपूर्ण प्रचार गरे त्यसविरुद्ध सामाजिक सञ्जालमार्फत् प्रतिरोधमा उत्रिन कार्यकर्तालाई निर्देशन दिएका छन्।
कर्णाली सम्पर्क कमिटीद्वारा आइतबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन्। ‘फेसबुकलगायत सामाजिक सञ्जालबाट अन्तर्राष्ट्रिय शक्तिको हमलालाई चिरेर अघि बढ्नुछ,’ उनले भने, ‘गलत कुरा लेख्यो भने धुलो झर्नेगरी कमेन्ट गरेर सातो लिन सकिन्छ। राम्रो लेख्यो भने उत्साहित र हौसला दिन सक्छौं। हामी पनि यो वारमा यथाशक्य सामेल हुन सक्नुपर्छ।’
उनले सामाजिक सञ्जालमा स्टाटस र कमेन्टमार्फत् अघि बढेर भ्रमविरुद्ध लड्न सक्नुपर्ने बताए। उनले नेता कार्यकर्तालाई सामाजिक सञ्जालसहित सांस्कृतिक जागरणबाट आमजनतालाई चेतना दिनुपर्ने धारणा पनि राखे। ‘एमाले हुँदैन थियो भने ०१७ साल अस्ति नै आइसक्थ्यो,’ उनले भने, ‘देशलाई तलमाथि हुन नदिन र संविधानको रक्षा गर्ने पार्टी एमाले नै हो।’
उनले अझै प्रतिगामी परमादेश आउनसक्ने पनि बताए। ‘हामी सरकार छोड्न तयार छौं, देशलाई तलमाथि हुन र संविधान च्यात्न दिँदैनौं। लोकतन्त्रलाई कमजोर हुन दिँदैनौ,’ उनले भने, ‘एमाले यो अठोटमा भएकाले नै लोकतन्त्र जीवित छ। पाँच दलीय गठबन्धन लोकतन्त्रका भक्षक हुन्, उनीहरुलाई सत्ता चाहिएको छ।’
दिग्भ्रमित पार्ने भ्रम फिजाउनेविरुद्ध सांस्कृतिक कार्यक्रममार्फत् चिर्न पनि उनले कार्यकर्तालाई निर्देशन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।