काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै खुसीयालीका साथ पर्व मनाउन आग्रह गरेका छन्।
अझै पनि कोभिड–१९को जोखिम कायमै रहेको र सबै नागरिकलाई पूर्ण खोप लगाई नसकिएको हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य मापदण्डलाई पालना गर्दै पर्वलाई खुसीयालीका साथ मनाउन देउवाको आग्रह छ।
भाइटीकाका अवसरमा आज (शनिबार) एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले सरकारको निरन्तर प्रयास र नेपाली दिदीबहिनी तथा दाजुभाइको सहयोगले कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यमा उल्लेख्य प्रगति हासिल भएको उल्लेख गरेका छन्।
कोभिड–१९ को प्रभावलाई न्यूनीकरण गर्न सरकार निरन्तर क्रियाशील भएकाले होसियारीपूर्वक यस किसिमका पर्वलाई केही हदसम्म आपसीरुपमा बसेर मनाउन सक्ने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ।
प्रधानमन्त्री देउवाले यतिबेला संविधानको संस्थागत कार्यान्वयनमार्फत मुलुकलाई विकास र प्रगतिको दिशामा अगाडि बढाइरहेको उल्लेख गर्दै आम नागरिक र राज्यका सबै निकायको आ–आफ्नै भूमिका एवं कार्यक्षेत्र रहने हुँदा सबैले आफ्नो भूमिकालाई निर्वाह गर्नुपर्ने बताएका छन्।
तिहारजस्तो दिदीबहिनी र दाजुभाइको मिलन गराएर आपसी भाइचाराको सम्बन्ध बढाउने पर्वले सबैलाई त्यो किसिमको प्रेरणा र खुशी देओस् भन्ने देउवाको कामना छ।
प्रधानमन्त्री देउवाले मुलुकमा शान्ति, अमनचयन र सुशासनको प्रत्याभूतिमा उचाइ हासिल गर्न मद्दत पुगोस् भन्ने कामनासमेत व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।