काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्वमा देखिएको विकृतिलाई रोक्दै मौलिकता जोगाउनेतर्फ सबैको ध्यानाकर्षण गराएका छन्। तिहारका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले पछिल्लो समय चाड पर्व मनाउने क्रममा विकृति पनि देखा पर्न थालेकामा चिन्ता व्यक्त गरेका छन्।
उपराष्ट्रपति पुनले सबै खाले चाड पर्वको संरक्षण र संवर्द्धन गर्नु सबैको दायित्व रहेको बताएका छन्।
उपराष्ट्रपतिले तिहारका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।
'बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश विविध धर्म, संस्कार संस्कृतिले अत्यन्त धनी छ। विविधतायुक्त धर्म, संस्कार संस्कृतिले हाम्रो राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएका छन्,' उपराष्ट्रपति पुनले शुभकामना सन्देशमा भनेका छन्, 'महान् चाड तिहारले नेपालीकाबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप बलियो बनाउनेमा विश्वस्त छु।'
जनताको लामो सङ्घर्षपछि देशमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था प्राप्त भएको उल्लेख गर्दै उनले यी परिवर्तनलाई संविधानले संस्थागत गरेसँगै देश स्थायी शान्ति, दिगो विकास, राजनीतिक स्थायित्व र प्रत्येक नेपाली जनताको आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नती र समृद्धिको मार्गमा रहेको बताएका छन्।
संविधानको पूर्णपालनसँगै राजनीतिक स्थायित्व, दिगो विकास, राष्ट्रिय एकता, आर्थिक सामाजिक रुपान्तरणसहितको समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई उर्जा थप्ने विश्वास पनि उपराष्ट्रपति पुनले व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।