काठमाडौं– यसपटक भाइटीकाको दिन (आज) काठमाडौंको जमलस्थित रानीपोखरी खुल्ने भएको छ।
हरेक वर्ष भाइटीकाको दिन खुल्ने रानीपोखरी यसपटक भने ६ वर्षपछि पूर्ण 'व्यवस्था'का साथ खुलाउन लागिएको हो।
दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु भाइटीकाका दिन रानीपोखरीको बीचमा रहेको बागगोपालेश्वर मन्दिरमा गइ पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्।
खञ्जनेश्वर महादेवमा भक्तजन
यसैगरी काठमाडौंको जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए।
'विसं २०३५ अघि रानीपोखरी भित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ,' टण्डनले भने।
विसं २०३५ पछि नियमितरुपमा रानीपोखरी भित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो। ६ वर्षअघिको गोरखा भूकम्पले बालगोपालेशवर मन्दिर क्षतिग्रस्त बनेपछि गत वर्षसम्म खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवं दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको हो। बालगोपालेश्वर मन्दिर भूकम्पपछि गत वर्षदेखि मात्र भक्तजनका लागि पुन: खुला गरिएको हो।
भाइटीकाको दिनलाई नेवार समुदायले किजा पूजाका रुपमा मनाउँछन्। गत वर्ष नेवार समुदायले किजा पूजाका रुपमा मनाउने भाइटीका तिथि घटबढका कारण भोलिपल्ट परेको थियो। यस वर्ष भने एकै वर्ष परेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।