काठमाडौं- नेकपा (एकीकृत समाजवादी)निटक विद्यार्थी संगठन अनेरास्ववियुले नेकपा एमालेका नेता योगेश भट्टराईको अभिव्यक्तिप्रति आपत्ती जनाएको छ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै भट्टराईले नेकपा (एकिकृत समाजवादी)का विषयमा व्यक्त गरेको विचारप्रति गम्भीर ध्यानाकर्षण भएको भनिएको छ।
सबैले लडेर स्थापना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको आधारभूत मान्यतालाई समेत बिर्सेर भट्टराईले व्यक्त गरेको विचारले उनको आफ्नै राजनीतिक कद घटाइरहेको अनेरास्ववियुले निष्कर्ष निकालेको संगठनका अध्यक्ष सुदेश पराजुलीले विज्ञप्तिमार्फत जनाएका छन्।
भट्टराईले केहीदिन पहिले एमालेको १०औं महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महाधिवेशनमा एकीकृत समाजवादीलाई नबोलाउने बताएका थिए। उनले एकीकृत समाजवादी अवैध सम्बन्धबाट जन्मिएको सन्तानजस्तै भएको भन्दै उसको नाम ठेगाना केही नभएको बताएका थिए।
सोही भनाइको प्रतिवाद गर्दै अखिलले जोरी नखोज्न चेतावनी पनि दिएको छ।
‘जनताको व्यवस्थालाई कमजोर बनाएर ‘बा’प्रवृत्तिलाई खुशी बनाउँदै नवप्रतिगामीको खरानी कति दिनसम्म घसिरहने हो? हिजो आफैंले ओली प्रतिगमनविरुद्ध देशभर घन्काएको नारा याद छ कि छैन?’, विज्ञप्तिमा भनिएको छ, ‘कति चाँडै प्रतिगामीको मतियार बन्ने भूत जागृत भएको हो ? प्रतिगमनको सेवकका रुपमा हामी क्रान्तिकारीहरुसँग जोरी नखोज्न चेतावनी पनि दिन चाहान्छौ। कसको ठेगाना कहाँ हो? आगामी निर्वाचनमा सार्वभौम नेपाली नागरिकले देखाइदिनेछन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।