काठमाडौं– जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा ७ जना घाइते भएका तथा १ बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ।
प्रहरीका अनुसार सुर्खेतदेखी जाजरकोटको जुनिचाँदे जाँदै गरेको बा ५ ख २५०१ नम्बरको मिनी ट्रक बिहीबार राति ११ बजे जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना भएको हो।
मृत्यु हुनेमा ठेगाना नखुलेका दिलबहादुर शाही छन्। अर्का मृतकको पहिचान खुल्न सकेको छैन। यस्तै, बेपत्ता भएकाको पनि पहिचान खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ।
घाइते हुनेमा आसिका खड्का, करिश्मा रावत, जुनिचाँदेका दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का छन्। घाइतेमध्ये धनबहादुर रावत मिनी ट्रकका चालक रहेका छन्।
प्रहरीका अनुसार मिनी ट्रकमा १० जना सवार थिए। दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।