काठमाडौं- अध्यक्ष रवीन्द्र मिश्रको पक्षले गरेको विधान संशोधनलाई वैधता प्रदान गर्ने निर्वाचन आयोगको कदम रहस्यमय भएको भन्दै यसविरुद्ध कानुनी उपचार खोज्ने विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेपक्षले चेतावनी दिएको छ।
पार्टीका प्रवक्ता हरीशप्रसाद भट्टले एक विज्ञप्ति जारी गर्दै आयोगले बिहीबार पठाएको पत्र रहस्यमय भएको भन्दै यस विषयमा आफूहरु संवादमा रहेको जानकारी दिएका छन्।
‘विगतमा आयोगले पार्टीको विधान विपरित बसेका बैठकको निर्णय आयोगले अध्यावधिक नगर्ने बताएको थियो। हालै सार्वजनिक सञ्चार माध्यममा पूर्वप्रमुख निर्वाचन आयुक्तले समेत विवेकशील साझा विवादमा पार्टीको विधान नै अन्तिम हुने बताएका थिए। आज आएको पत्र रहस्यमय छ। हामी यस बिषयमा आयोगसँग संवादमा छौं,’ विज्ञप्तिमा भनिएको छ।
बुधबार निर्वाचन आयोगले कानुन बमोजिम ‘विवेकशील साझा पार्टीको विधान २०७८’ र केन्द्रीय समितिमा हेरफेर भएको विवरण सदर गरी आयोगको रेकर्ड अद्यावधिक गरेको जानकारी दिएको साझा पार्टीले जनाएको छ।
अब उप्रान्त पार्टीको काम कारबाही नयाँ विधान अनुरूप अघि बढ्ने र केन्द्रीय समितिको कुल सदस्य संख्या १२४ मानिने विवेकशील साझाले जनाएको छ।
यस्तै, सो बैठकले संयोजक मिलन पाण्डेको अधिकार कटौती गर्दै संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रह गर्ने एजेण्डासमेत पारित गरेको थियो।
तर, पाण्डेपक्षले पार्टीको विचार, संगठन र पहिचान कसैले मेट्न खोजेर नमेटिने स्पष्ट पारेको छ।
‘विवेकशील साझा पार्टी कुनै सेलिब्रेटिको फ्यानक्लब हैन, यो झण्डै एक दशक लामो पार्टी जीवनमा नागरिक आन्दोलनहुँदै वैकल्पिक वैचारिकिमा उभिएको परिपक्व पार्टी हो,’ विज्ञप्तिमा भनिएको छ,‘यो पार्टीको विचार, संगठन र पहिचान कसैले मेट्न खोजेर मेटिने पनि होइन। हामीले विवेकशील साझा पार्टीलाई पुनर्गठन गर्दै सुदृढ गर्दै लाने निर्णय गरिसकेका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।