काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा विवादबारे सत्ता गठबन्धनमा छलफल गर्ने भएको छ।
बुधबार बसेको बैठकले उक्त निर्णय गरेको उपमासचिव तथा केन्द्रीय कार्यालय सचिव गंगालाल तुलाधरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
‘न्यायपालिकामा देखापरेको समस्याप्रति गम्भीर रुपमा ध्यान दिई उपयुक्त निकास निकाल्न पाँच दलीय गठबन्धनमा छलफल गर्ने,’ विज्ञप्तिमा भनिएको छ।
पछिल्लो समय सत्तासँग साँठगाँठ गरेको, मन्त्रिमण्डलमा भागबन्डा खोजेको, मुद्दाको पेसी तोक्दा गोलाप्रथा लागू गर्न नमानेकोलगायत विषयमा प्रधानन्यायाधीश राणाको चौतर्फी आलोचना भइरहेको छ।
यस्तै, उनको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले धर्ना दिँदै आएको छ।
यस्तै, पार्टीले एकीकृत समाजवादीले पार्टीमा आउन चाहिरहेका विभिन्न राजनीतिक समूह र व्यक्तिहरूसँग वार्ता गर्न महासचिव बेदुराम भुसाल नेतृत्वमा वार्ता टोली गठन गरेको छ।
महासचिव भुसालको नेतृत्वमा उपमहासचिव गंगालाल तुलाधर र विजयकुमार पौडेल सदस्य रहेका छन्। उक्त वार्ता टोलीले वार्तासम्बन्धी प्रस्ताव तयार गरी सचिवालयमा पेस गर्ने विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।