काठमाडौं– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरणलाई चाँडै टुंगो लगाउने बताएका छन्।
बिहीबार काठमाडौंमा न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले प्रदेशको नामाकरणलाई चाँडै टुंगो लगाउने बताएका हुन्। अघिल्लो सरकारले सुरु गरेका कामलाई पूरा गर्ने र बजेटलाई श्रोत खोजेर ठूलो बनाउने उनको भनाइ छ।
मुख्यमन्त्री राईले आफ्नो कार्यकालमा बजेटलाई सही ढंग र सही स्थानमा खर्च गर्ने बताउँदै नेकपा एमालेको सरकारले प्रदेशको नामाकरणका लागि पहल नै नगरेको आरोप लगाए। उनले प्रदेशको नामाकरण गर्न दुई तिहाई मतको आवश्यक पर्ने भएकोले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुसँग पनि छलफल गर्ने र सहयोग पुर्याउन आग्रह गर्ने बताए।
‘पहिलो कुरा त यसको नाम तोक्ने काम हामी आरम्भ गर्दछौँ र प्रक्रिया पूरा गरेर नाम तोक्छौँ। थालेका कामहरुलाई सम्पन्न गर्छौं। बजेटको आकार सानो छ। त्यो बजेटलाई हामी अर्को बजेट अधिवेशनसम्ममा श्रोतहरु खेजेर ठूलो बनाउने प्रयास गर्छौं’, मुख्यमन्त्री राईले भने, ‘बजेटको सही सदुपयोग नहुने, बजेटलाई कार्यान्वयन गर्नको लागि योजना सही ढंगले छनोट नहुने, त्यसको प्राथमिकता सही ढंगले नहुने, यस्ता कमी कमजोरीहरुलाई हामी रोक्ने प्रयास गर्छौं।’
मुख्यमन्त्री राईले नेपालमा संघीयता सही ढंगले अघि बढ्न नसकेको पनि बताए। उनले अहिले पनि नेपालमा केन्द्रीय ढंगले नै काम हुने गरेको बताउँदै प्रदेशलाई दिनुपर्ने अधिकार संघले नदिएको बताए।
‘अधिकारहरु पनि प्रदेशलाई जति दिनुपर्ने दिइएको छैन। बजेट पनि जति दिनुपर्ने दिएको छैन। सानातिना कामहरु स्थानीयले गर्नुपर्ने, मझौला खालका प्रदेशले गर्नुपर्ने भन्ने संघले गर्नुपर्ने भन्ने मान्यता हो, तर सानातिना दुई÷चार लाख, १० लाखका योजनाहरु केन्द्रले अझै निरन्तरता दिइरहेको छ’, मुख्यमन्त्री राईले भने, ‘केन्द्रबाट ऋण लिएर भएपनि काम जनअपेक्षाअनुसार भेट्ने गरी अगाडि बढ्नुपर्छ। बजेटको दुरुपयोग पनि छ। यस्ता कुरालाई म हटाउने कोसिस गर्नेछु। बजेट ठूलो बनाएर भएको बजेटलाई सही ढंगले सदुपयोग गर्नेगरि अघि बढ्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।