काठमाडौं- विवेकशील साझा पार्टीको रवीन्द्र मिश्र पक्षले विधानमा हेरफेर गरेको छ। गत कार्तिक ११ गते अध्यक्ष रवीन्द्र मिश्रको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले नयाँ विधान र केन्द्रीय समिति सदस्यहरूको सङ्ख्या सम्बन्धमा गरेको निर्णयबारे निर्वाचन आयोगलाई जानकारी गराएको र आयोगले उक्त विवरण सदर गरेको विवेकशील साझा पार्टीले जनाएको छ।
मिश्र पक्षले दुई-तिहाइ भन्दा भन्दा बढी मतका साथ पार्टीको नयाँ विधान पारित गरेको दाबी गरेको छ । साथै, केन्द्रीय समिति सदस्यहरूको सङ्ख्या (५ जनाको राजीनामा र एक जनाको देहावसानका कारण) १२४ रहेको जानकारी आयोगसमक्ष गराएको थियो।
'यी दुवै विषयबारे निर्वाचन आयोगलाई जानकारी गराई आयोगको रेकर्ड अद्यावधिक गराउन आवश्यक थियो। हामीले निर्वाचन आयोगलाई त्यसै अनुरूप पत्राचार गरेका थियौँ' अध्यक्ष मिश्रपक्षको विवेकशील साझाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,'हिजो कात्तिक १७ गते बुधवार निर्वाचन आयोगले कानुन बमोजिम “विवेकशील साझा पार्टीको विधान २०७८” र केन्द्रीय समितिमा हेरफेर भएको विवरण सदर गरी आयोगको रेकर्ड अद्यावधिक गरेको जानकारी दिएको छ। अब उप्रान्त हाम्रो काम कारबाही नयाँ विधान अनुरूप अघि बढ्नेछ। साथै केन्द्रीय समितिको कूल सदस्य सङ्ख्या १२४ मानिनेछ।'
अब पार्टीको काम कारबाही अघि बढाउन कुनै कानुनी अवरोध नभएको विज्ञप्तिमा जनाइएको छ। अध्यक्ष रवीन्द्र मिश्रले फरक मत राख्ने पार्टीका नेताहरुलाई विमति भए पनि केन्द्रीय समितिको अत्यधिक बहुमत र निर्वाचन आयोगको निर्णयलाई सम्मान गर्न आग्रह गरेका छन्। उता संयोजक मिलन पाण्डेपक्षले भने मिश्रले विवेकशील साझा पार्टी फुटाएको आरोप लगाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।