काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संघीय संसदको चुनाव समयमै हुने बताएका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कसैले पनि चाँडै चुनाव हुन्छ भनेर भ्रम पाल्न नपर्ने बताए।
बिहीबार मध्यपुर थिमि नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम नेता नेपालले भने ‘कसैले भ्रम नपाले हुन्छ आजै चुनाव हुन्छ, छिटै चुनाव हुनेवाला छैन। संघीय संसदको चुनाव आफ्नै समयमा हुनेछ।’
अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनलाई कसैले भत्काउन नसक्नेसमेत बताए। ‘पाँच दलको एकता बलियो हुनेछ, यो गठबन्धनलाई कसैले भत्काउन सक्दैन,’ नेपालले भने।
उनले आफूहरुसँग टक्कर लिन खोज्नेहरु समाप्त हुने चेतावनी दिए। आफूहरुसँग टक्कर लिन खोज्दा कर्णाली प्रदेशमा एमाले उठ्नै नसक्ने अवस्थामा पुगेको टिप्पणी गरे।
एक नम्बर र बागमती प्रदेशमा आफ्नो पार्टीबाट मुख्यमन्त्री बनेको बताउँदै अध्यक्ष नेपालले आफूहरुसँग टक्कर लिन खोज्नेहरु 'चुरचुर' हुने टिप्पणी गरे। उनले भने, 'जो हमसे टकराएगा, चुरचुर होजाएगा।'
उनले आगामी चुनावमा नेकपा एसको विययी अभियान सुरु हुने दाबी गरे। ‘निर्वाचनका लागि विभिन्न ठाउँको आंकलन गरिरहेका छौं। हामीले जित्नेछौं। हामीसँग इर्स्या गर्नेहरुको हालत खत्तम हुनेछ’ उनले भने।
अध्यक्ष नेपालले एमालेमा रहँदा आफूलाई साथ दिएका १० भाइलाई नेकपा एसमा आउन आह्वान गरेका छन्। उनीहरु एमालेमै बसेर पछुताइरहेको भन्दै अध्यक्ष नेपालले अझै केही नबिग्रिएकाले पार्टीमा आउन आह्वान गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।