काठमाडौं- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालको प्रजातन्त्र 'कम्पनी'को रुपमा विकसित भएको टिप्पणी गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित ‘नेपालको राजनीतिक सन्दर्भ (घट्नाक्रमहरुको संगालो)’ पुस्तक बिमोचन कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले नेपालको प्रजातन्त्र कम्पनीको रुपमा विकसित भएको टिप्पणी गरेका हुन्।
उनले प्रजातन्त्र दलहरुको बाँटफाँटमा परेको आरोप लगाए। राजनीतिक दलहरुले हरेक विषयको निर्णय गर्दा आफ्नो भागमा के पर्छ भन्ने स्वार्थले हेर्ने गरेको उनको भनाइ थियो।
प्रजातन्त्र जनतालाई नभई केवल दलहरुलाई मात्रै आएको उनले बताए।
‘डेमोक्रेसी कम्पनीको रुपमा विकसित भयो। डेमोक्रेसी पब्लिक गुटको रुपमा, सार्वजनिक सेवाको रुपमा होइन कि कम्पनीको रुपमा विकसित भएको छ। यो कल्चरको रुपमा विकसित हुनुपर्ने । संस्कारको रुपमा विकसित हुनुपर्ने। यो त जिन्दगीको दैनिक व्यवहारको रुपमा विकसित हुनुपर्ने हो,' उनले भने, 'प्रजातन्त्र दलहरुको माझमा बाँटफाँटमा परेको छ, जुनसुकै निर्णय, आज न्यायपालिकाको कुरा गरौँ वा जुनसुकै कुरा गरौँ, जुनसुकै महत्वपूर्ण निर्णायक क्षण, एमसीसी भनौँकी जेसुकै भन्नुस्, जुनसुकै निर्णायक क्षणमा पुग्दाखेरी दललाई सोध्यो भने दुईवटा कुराले उसलाई गाइड गरेको जस्तो लाग्छ।'
'दलले सोच्ने कुरा के भने मेरो भागमा के पर्छ? पहिलो प्रश्न। मेरो भागमा के हुन्छ? मलाई के हुन्छ? पहिलो प्रश्न। कदाचित त्यो कार्यान्वयन भएन, मेरो बाउको के जान्छ? दुईवटा सिद्धान्त, मेरो भागमा के पर्छ? मेरो बाउको के जान्छ? दुईवटा सिद्धान्तलाई मुख्य क्राइटएरिया बनाएर निर्णय गर्ने संस्कार छ। अहिले दलहरुको प्रजातन्त्र भयो। प्रजातन्त्र, जनताको प्रजातन्त्र हो नि। दल हरु त कडी हुन्। उनीहरु माध्यम हुन्। आफै प्रजातन्त्र होइनन् दलहरु’ उनले भने।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले राजनीतिक दलहरुले जनतालाई तर्साउदै हिँडेको आरोप लगाए। राजनीतिक दलहरुले जनतामाथि आफ्नो अधिपत्य जमाउनका लागि थर्काउने र तर्साउने गरेको उनले बताए।
राजनीतिक दलहरुको यस्ता गलत प्रवृत्तिका कारण नै प्रजातन्त्रले सही दिशाबोध गर्न नसकेको उनले बताए।
‘दल हुनु आफैँ प्रजातन्त्रको द्योतक होइन प्रजातन्त्रबाट जनताले के पाए, हक अधिकारको संरक्षण भयो कि भएन, न्याय पाए कि पाएन। जीवनस्तरमा सुधार भयो कि भएन जिविकाका माध्यमहरु बढे कि बढेनन्। यि कुराहरु हुन् र ति निर्णय प्रक्रियामा जनताको सहभागितालाई आव्हान गर्नुपर्ने हो। अहिले बलिया–बलिया दलहरु निस्केका छन्। र जनता तर्साउँदै हिँडेका छन्। दलहरु, नेताहरु जनता थर्काउने। र जनतामाथि अधिपत्य मेरो छ भन्ने। जनता बस्तु होइनन्। दलको स्वामित्व भित्रका रैतिहरु होइनन्' उनले भने।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले वर्तमान संविधानको कार्यान्वयन गर्नका लागि राज्य आर्थिक रुपले सुदृढ हुनुपर्ने बताए। आर्थिक रुपमा सक्षम नहुञ्जेलसम्म संविधानको कार्यान्वयन गर्न नसकिने उनको भनाइ छ। नेपालमा उपभोक्तावादी संस्कृतिका कारण अर्थतन्त्र दरिलो हुन नसकेको भन्दै उपभोक्तावादी संस्कार त्याग्नुपर्ने बताए।
‘यो संविधान महंगो छ कार्यान्वयन गर्नलाई। ३१ वटा हक छ। अरबौँ लाग्छ हरेक हकलाई यो संविधान बमोजिमको हक चाहीँ जनताले साच्चै दिने हो भने हामीले विकासको चरम उत्कर्षमा पुग्नुपर्नेछ। प्रशस्त राजस्व हामीले बचत गर्नुपर्ने छ र संविधान कार्यान्वयनमा लगाउनुपर्ने छ,' उनले भने।
उनले एक टेलिभिजन कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई विवेक नभएको मान्छे भनेको तर्फ इंगित गर्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले आफ्नो विवेकबारे आफूले दाबी नगर्ने बताए। आफूले गरेका निर्णयहरुमा कति विवेक पुगे, पुगेनन् भन्ने विषय जनताको माझमा रहेको भन्दै जनताले नै निर्णय गर्न सक्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।