काठमाडौं- नेकपा एमालेले केन्द्रीय महाधिवेशनका लागि चयन गरिने प्रतिनिधिको आधार तय गरेको छ। मंसिरको १० गतेदेखि १२ सम्म चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटको आधार बनाइएको हो।
महाधिवेशनमा केन्द्रीय सल्लाहकार परिषद्बाट निर्वाचित हुने १५ जना प्रतिनिधि सहभागी हुने भएका छन्। सल्लाहकार परिषद्का प्रतिनिधिलाई मताधिकार भने हुने छैन।
प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्यहरू मध्येबाट कम्तिमा २ महिलासहित ५ जना दरले निर्वाचित प्रतिनिधिहरु हुनेछन्।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्तर्गतका १२०० सम्म पार्टी सदस्य मध्येबाट कम्तिमा १ महिलासहित ३ जनाका दरले निर्वाचित हुने प्रतिनिधि महाधिवेशनमा सहभागी हुने भएका छन्। उक्त संख्यामा ८०० सम्म सदस्य थप भएमा थप १ जना, १६०० सम्म सदस्य थप भएमा थप २ जना हुनेछन्। २४०० सम्म सदस्य थप भएमा कम्तिमा १ महिला सहित ३ जना र सो भन्दा बढी भएमा सोही अनुपातमा प्रतिनिधि चयन हुनेछन्।
देशभरका जिल्ला र विशेष जिल्ला अन्तर्गतका ५०० सम्म दलित पार्टी सदस्य मध्येबाट निर्वाचित हुने १ जना प्रतिनिधि चयन गरिने भएको छ। उक्त संख्यामा ५०० सम्म सदस्य थप भएमा थप १ जना, १००० सम्म सदस्य थप भएमा थप २ जना, १५०० सम्म सदस्य थप भएमा कम्तिमा एक महिलासहित ३ जना निर्वाचित हुने व्यवस्था गरिएको छ।
भूगोलका प्रदेश अन्तर्गतमा मजदुर पार्टी सदस्य मध्येबाट कम्तिमा ३ महिलासहित ७ जनाका दरले निर्वाचित हुने व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।