काठमाडौं- नेकपा एमालेले आगामी दशौं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधित्व गर्नेहरुका लागि दुईथरी शुल्क निर्धारण गरेको छ। महाधिवेशनबारे जानकारी दिन मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले शुल्कबारे जानकारी गराएका हुन्।
'हामीले प्रतिनिधि शुल्क राखेका छौं। स्वतः प्रतिनिधित्व हुने केन्द्रीय कमिटी र केन्द्रीय निकायबाट प्रतिनिधित्व गर्नेहरुलाई तीन हजार प्रतिनिधि शुल्क तोकिएको छ। तल निर्वाचित भएर आउनेहरुलाई दुई हजार प्रतिनिधि शुल्क तोकिएको छ। यो स्रोतबाट नै हामीले महाधिवेशनलाई सम्पन्न गर्छौं', उनले भने।
उनले यसपटक महाधिवेशनका लागि सार्वजनिक ढंगले चन्दा आह्वान नगरेको बताए। 'तर, स्थानीय पार्टी कमिटीहरुले त्यो काम केन्द्रको अनुमतिमा गर्न सक्छन्। किनभने यातायातदेखि अन्य कतिपय खर्चहरु स्थानीय कमिटीले जुटाउनुपर्ने हुनाले त्यो गर्न सक्छन्। त्यसका लागि केन्द्रीय कार्यालय, केन्द्रीय आर्थिक विभागसँग पूर्वअनुमति लिएर गर्न सक्नुहुन्छ', उनले भने।
उनले स्वेच्छिक ढंगले आमपार्टी सदस्यहरुले स्थानीय तहको व्यवस्थापन गर्नुपर्ने बताए। 'जस्तो; चितवनमा बुटवल, नेपालगञ्ज, झापा तथा काठमाडौंबाट गाडीहरु जान्छन्। यसको व्यवस्थापन सम्बन्धित तहको पार्टी कमिटीले गर्छ र त्यसका निम्ति पार्टी सदस्यहरुबाट स्वेच्छिक सहयोग आह्वान हुन्छ', उनले भने।
भट्टराईले एमालेका लागि यो पटक संगठित सदस्यता शुल्क र नवीकरण शुल्क खर्चको मुख्य स्रोत भएको बताए। 'अहिले नै म भन्न सक्दिनँ। तर, त्यसबाट नेकपा एमालेले वार्षिक करोडौं रुपैयाँ केन्द्रीय कोषमा जम्मा गर्छ। त्यसबापत केही रकम प्रदेश कमिटीमा हुन्छ। केही रकम जिल्ला कमिटीमा हुन्छ। केही स्थानीय कमिटीमा पनि हुन्छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।