काठमाडौं– उडान भर्न लागेको जहाजसँग बँदेल ठोक्किएपछि नेपालगञ्ज विमानस्थलमा झाडी सरसफाइ थालिएको छ।
मंगलबार नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उड्न लागेको सीता एयर डोर्नियर विमानमा ३ वटा बँदेल ठोक्किएका थिए। विमानस्थलको झाडीमा रहेका बँदेलहरु धावनमार्गमा आएर विमानसँग ठोक्किन थालेपछि सेना र प्रहरीले झाडी सफाइ गरेका हुन्।
बुधबार बिहान सेना र प्रहरीको टोलीले विमानस्थल क्षेत्रको झाडी हटाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
मंगलबार नेपालगञ्जबाट सिमकोटका लागि उड्न लागेको जहाजले टेकअफ गर्न लाग्दा ३ वटा बँदेल ठोक्किएका थिए। बँदेल ठोक्किएपछि विमानका चालकले टेकअफ 'रिजेक्ट' गरेका थिए।
नेपालगञ्ज विमानस्थलमा यसअघि पनि धावनमार्गमा बँदेल देखिने गरेका थिए।
विमानस्थल क्षेत्रको झाडी बढेर बँदेलसहितका जंगली जनावरले बासस्थान बनाएको र बेलाबेला रनवेमा देखिने र विमानसँगै ठोकिने घटना हुँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।