फाइल तस्बिर
काठमाडौं- आफैंले रामको जन्मस्थल माडी भएको भन्दै चर्चामा ल्याएका एमाले अध्यक्ष केपी शर्मा ओलीले मङ्गलबार त्यस क्षेत्र पुगेर रामको बखान गरेका छन्। रामको जन्मस्थान सोही क्षेत्र भएको दोहोर्याउँदै उनले राम आफ्नै घरमा फर्किएको बताए।
'अब भगवान् राम आफ्नो जन्मस्थलमा आइपुग्नुभएको छ। लक्ष्मण र सीता आफ्नो जन्मथलो र कर्मथलोमा आउनुभएको छ,' माडीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले भने, 'मन्दिर घर बन्दै गर्छ। हामी बनाउँदै गर्छौं। मुख्य कुरा राम जन्मभूमिको टुङ्गो लाग्नु हो।'
उनले माडीमा बन्ने मन्दिर दुनियाँको नमूना मन्दिर हुनुपर्ने बताए। 'के गर्ने पैसा छैन भन्ने होइन। अरु गर्न पैसा हुन्छ भने राम राम मन्दिर बनाउन पैसा हुँदैन होला हामीसँग? पैसा हुन्छ,' उनको भनाइ थियो।
उनले आफूले चार वर्षअघि माडीमा बोल्दा माडीलाई मणि बनाउने बताएको भन्दै अब आफू होइन, राम नै माडीलाई मणि बनाउन फर्केर आएको बताए। 'रामको क्षेत्र तीर्थस्थललाई सुरक्षित गर्नुस्,' उनले आग्रह गरे, 'यहाँ मेला लाग्नुपर्छ र दशौं लाख मानिसहरुको मेला लाग्नेछ। राम नवमीका दिन नेपालका मात्रै होइन, भारत र विश्वभर रहेका हिन्दूहरुको राम जन्म जन्मभूमिमा राम नवमीका दिन रामको जन्मको दिन रामको जन्मभूमिमा पुगुँ भन्ने सबैलाई हुन्छ र यहाँ असाधारण मेला लाग्नेछ।'
ओलीले २०२९ सालको निकुञ्जसम्बन्धी ऐनको प्रावधानमा रहेको मुआब्जाको चर्चा गर्दै त्यो पुरानो भएको र अहिले जग्गाको भाउ बढेको बताए। '२०२९ सालमा १० हजारमा १० बिघा पाउँथ्यो। सीताराम यहाँ आइसकेपछि जमिनको भाउ बढेको होला नि, छैन?,' उनले सोधे।
उनले त्यस ठाउँको जमिनको भाउ अझै बढ्ने बताए। 'बगरको दाम बढ्यो। खोला किनारको दाम बढ्यो। गेग्रानहरुको दाम बढ्यो। यहाँको दाम अझ बढ्छ। यहाँको दाम पछि काठमाडौंको जति हुन्छ। न्युरोडको जति हुन्छ। जब विकास हुन्छ।'
आगामी चुनावमा चितवन कुरुक्षेत्र हुने अभिव्यक्ति दिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति पनि उनले कटाक्ष व्यक्त गरे। 'मलाई प्रचण्डले उहिले एउटा बसमा बम पड्काइदिने, ३९ जना तत्काल मर्ने, ६ जना पछि मर्ने, ६९ जना घाइते भएर बाँच्नुपर्ने, त्यही बैंश सोचेर कुरुक्षेत्र बनाउँला भनेको होला। अब कुरुक्षेत्र होइन। धर्म क्षेत्र, शान्ति क्षेत्र, पवित्र भूमि, विकास क्षेत्र, एकता क्षेत्र, मेलमिलाप क्षेत्र र जनता मिलेर विकास गर्ने संकल्प गरेको क्षेत्र हुन्छ,' उनले भने, 'कुरुक्षेत्र नै बनाउन खोजेको भए उहाँलाई म भन्न चाहन्छु, कौरवहरुले जितेका थिएनन् कुरुक्षेत्रमा। पाण्डवहरुले जितेका थिए। जो युद्ध चाहँदैनथे। उनीहरुले जितेका थिए। जो युद्धका लागि कस्सिएका थिए, तिनले हारेका थिए।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।