काठमाडौं- चीनलगायत विश्वका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि तत्काल जाने व्यवस्था मिलाउन माग गर्दै विभिन्न विद्यार्थी संगठनहरुले परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।
मंगलबार विभिन्न विद्यार्थी संगठनहरुले सिंहदरबारमा परराष्ट्रमन्त्री नारायण खड्कालाई ज्ञापनपत्र बुझाउँदै चीनलगायत विश्वका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि जान नपाएका विद्यार्थीहरुलाई तत्काल जाने व्यवस्था मिलाउन माग गरेका हुन्।
ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री खड्काले अध्ययनका लागि विद्यार्थीहरु जान नपाउनु मानवीय समस्या भएको बताए। उनले छिट्टै नै विदेश अध्ययनका लागि जाने व्यवस्था मिलाउने आश्वासन दिए। मन्त्री खड्काले विद्यार्थीहरुको अध्ययन गर्न जान नपाएको समस्या गम्भीर रहेको र यस बारेमा आफूले कुरा पनि उठाएको बताए।
मन्त्री खड्काले विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न नहुने उल्लेख गर्दै सरकारले विद्यार्थीको भविष्य बनाउन भूमिका खेल्ने बताए। नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौँ लगायतका छ विद्यार्थी संगठनले कोरोनाका कारण चीनबाट नेपाल फर्काइएका विद्यार्थीहरुको भविष्य अन्योलमा परेको भन्दै उनीहरुलाई विदेशका विश्वविद्यालयमा जानसक्ने व्यवस्था मिलाइदिन माग गर्दै परराष्ट्रमन्त्री खड्कालाई ज्ञापनपत्र बुझाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।