काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै 'आन्दोलन'मा रहेका न्यायाधीशहरुले राजीनामा मागको पूर्ववत अडानमा कायम रहने निर्णय गरेका छन्।
मंगलबार छलफलमा बसेका सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश राणाले राजीनामा दिनुको विकल्प नभएको भन्दै राजीनामा माग गर्ने अडान नछाड्ने निर्णय गरेका हुन्।
यसअघि सोमबार बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्न 'सकारात्मक' भएका न्यायाधीशहरुले आजको बैठकबाट यसबारे कुनै निर्णय नगरेको बैठकमा सहभागी एक न्यायाधीशले बताए।
न्यायाधीशहरूले राणाले आफूहरूका माग बेवास्ता गरेको र अल्मल्याउन खोजेको आरोप लगाएका छन्।
'उहाँले विकल्पहरु अल्मल्याउन मात्र अघि सार्नुभएको हो। हिजो हामीले बन्दी प्रत्यक्षीकरणका मुद्दा हेरेपछि उहाँले अव यिनिहरू मुद्दा हेर्न फर्किए भन्ने सन्देश दिन खोज्नुभयो' उनले भने।
कार्यकारी प्रमुख (प्रधानमन्त्री)सँग विभिन्न नियुक्ति (मन्त्रिपरिषद्)मा समेत हिस्सा खोजेको, पेसी तोक्दा नियत राखेको, आफू विरुद्धको मुद्दाको सुनुवाइ सारेको, अदालतमा देखिएका विकृति, विसंगति हटाउन भूमिका नखेलेको भन्ने आरोप लगाउँदै सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आएका छन्।
सर्वोच्चका न्यायाधीशहरुले गत आइतबार चिया समयपछि इजलास बहिस्कार गरेका थिए। सर्वोच्चका २० जना न्यायाधीशमध्ये १९ जनाले जबराको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।