काठमाडौं– कर्णाली प्रदेशमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। शाहीको समर्थनमा २० जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरेका छन्।
गठबन्धनका तीन दलका सांसदहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न शाही प्रदेश प्रमुखको कार्यालय पुगेका थिए।
‘तीन दलका सांसदहरु प्रदेश प्रमुखको कार्यालय आइपुगेका छौं। गठबन्धन दलका सबै सांसदको समर्थनसहित आएका छौं’ कांग्रेस सांसद दिनबन्धु श्रेष्ठले भने।
केन्द्रीय गठबन्धन अनुसार नै कर्णालीमा कांग्रेसबाट मुख्यमन्त्री बन्न लागेका शाहीलाई माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले समर्थन दिएका छन्। कर्णालीमा माओवादी केन्द्रका ११, कांग्रेसका ६ र एकीकृत समाजवादीका ३ प्रदेश सभा सदस्य छन्। हाल कायम ३५ प्रदेश सभा सदस्य रहेको प्रदेश सभामा बहुमतका लागि १८ मत आवश्यक पर्दछ।
प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले आज साढे ७ बजेसम्मको लागि सरकारको दाबी गर्न समय दिएका थिए। सरकारको दाबी गरेपछि आज नै शपथ हुनसक्ने सांसद श्रेष्ठले बताए। मुख्यमन्त्रीसहित अन्य मन्त्रीले शपथ लिने बारे हालसम्म निर्णय नभएको श्रेष्ठले जानकारी दिए।
सोमबार मुख्यमन्त्री महेन्द्र बहादुर साहीले पदबाट राजीनामा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।