काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले न्यायालयको विवादमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले निकास दिनुपर्ने बताएका छन्।
न्यायपालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा कसैको दुई मत नभएको नेता कोइरालाको भनाइ छ। न्यायापालिकाको विषयमा बोल्न हुन्न भन्ने अभिव्यक्तिको आफू विपक्षी रहेको उनले बताए। मानव अधिकार तथा शान्ति समाजले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा उनले भने, ‘अदालतमा भएको फैसलामा हस्तक्षेप गर्न नहुने हो। फैसलामा हस्तक्षेप गर्ने तर अहिले जुन समस्या देखिएको छ त्यसमा बोल्न मिल्दैन भन्नुहुँदैन।’
केही वरिष्ठ अधिवक्ताले न्यायालयमा भइरहेको विषयमा बोल्न नहुने बताइरहेको प्रति उनले असन्तुष्टि व्यक्त गरे। राजनीतिक दलले अहिले अदालतमा देखिएको समस्यामा बोल्नुपर्ने उनको भनाइ छ।
‘प्रधानन्यायाधीशले आफ्नो विवेक प्रयोग गरी निकासको बाटो उहाँले नै खोलिदिनुर्पछ’, कोइरालाले भने।

गजेन्द्र हमाललाई मन्त्री बनाउनुमा प्रधानन्यायाधीशको भन्दा प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका बढी रहेको कोइरालाले बताए। उनले भने,‘भाग खोज्ने मानिस त हुन्छन्। भाग खोज्ने त दोषी हुन्छ हुन्छ। भाग दिने मानिस पनि त्यति नै दोषी हुन्छ।’
कार्यक्रमा श्रवण मुकारुङ, प्रा डा बेनिमधव ढकाल, राम रिझन यादव, राम बहादुर पहाडी, रत्ननिधि रेग्मी, रामेश्वरी पन्त, प्रतिसरा मानन्धर, बिना थिङ तामाङ, मनु विक, मेनका पोखरेल, देवकी तिमल्सिना, सुदेश सत्याल लगायतले रचना वाचन गरेका थिए। कार्यक्रममा श्रष्टाहरुलाई सम्मान पनि गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।