काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छिटोभन्दा छिटो पदबाट राजीनामा दिन सुझाव दिएका छन्।
पौडेलले प्रधानन्यायाधीश जबराले छिटोभन्दा छिटो पदबाट राजीनामा दिएमात्रै सम्मानजनक बर्हिगमन हुने पनि स्पष्ट पारे।
नेपाली कांग्रेस जिल्ला कार्य समिति मकवानपुरले मंगलबार बिहान हेटौँडामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रधानन्यायाधीश जबराले केही दिनअघि आफ्नो सम्मानजनक बर्हिगमनको कुरा गरेको उल्लेख गर्दै त्यसका लागि उनले छिटो राजीनामा दिनुपर्ने बताए।
वरिष्ठ नेता पौडेलले ढिलाई गर्दै गए राणाको बर्हिगमन अपमानजनक हुने संकेत गरे। उनले प्रधानन्यायाधीशसँग सेटिङ गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदलाई ध्वस्त पारेको, संविधानको आत्मामाथिनै प्रहार गरेको आरोप लगाए।
‘अरु संस्था त ध्वस्त भए, भए। देशको एउटा जनताको न्यायको अन्तिम मन्दिर आज सर्वोच्च अदालत पनि ध्वस्त भइरहेको छ। सर्वोच्च अदालतको यो हाल भइरहेको छ’, उनले भने, ‘संविधानको आत्मामाथि प्रहार गरेको साँची बस्ने प्रधानन्यायाधीशले सेटिङ गरेको हो कि होइन? आज सर्वोच्च अदालतको के हालत भइरहेको छ? यो अवस्थामा देश किन पुग्यो?’
फरक प्रसंगमा उनले नेतृत्व परिवर्तन गरेर मात्रै पार्टीलाई सही दिशामा अघि बढाउन सकिने बताए। त्यसका लागि पुस्तान्तरण नभई नेतृत्व परिवर्तन आजको आवश्यक्ता भएको उनको तर्क छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।