काठमाडौं- नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले बुधबारमात्रै मुख्यमन्त्रीका रूपमा शपथ लिने तयारी गरेका छन्।
प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले मंगलबार बेलुका साढे ७ बजेसम्म मुख्यमन्त्री दाबी प्रस्तुत गर्ने समय दिएकाले शपथ बुधबार गर्ने तयारी गरिएको कांग्रेस सचेतक हिमबहादुर शाहीले बताए।
‘प्रदेश प्रमुखले आज बेलुका साढे ७ बजेसम्मको समय दिनु भएको छ। आज उहाँ (जीवनबहादुर शाही) मुख्यमन्त्री नियुक्त हुनुहुन्छ होला। आजै नियुक्त भएर आजै शपथ हुने सम्भावना छैन। त्यसैले सकेसम्म भोलि नै मुख्यमन्त्रीको शपथ लिने तयारी छ’, शाहीले भने।
नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने बाटो खुलेको हो।
तत्कालीन नेकपामा विवाद आएपछि कांग्रेससँगको सहकार्यमा मुख्यमन्त्री शाहीले आफ्नो पद जोगाएका थिए। त्यतिबेला नै शाहीले कांग्रेससँग कात्तिक १५ गते मुख्यमन्त्री पद छोड्नेगरी लिखित सहमति गरेका थिए।
कांग्रेसका जीवनबहादुर शाहीलाई कांग्रेससहित नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलले समर्थन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।