काठमाडौं- नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई भोलिमसम्म राजीनामा दिन स्मरण गराएका छन्।
राणाको राजीनामा माग गर्दै तीन दिने आन्दोलनका कार्यक्रम तय गरेको बारले उनलाई यसअघि नै राजीनामाका लागि भोलिसम्मको अल्टिमेटम दिइसकेको छ।
बार प्रांगणमा तेस्रो दिनको आन्दोलनलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले भोलिसम्म राजीनामा नदिए सडक आन्दोलनमा जाने चेतावनी दिए।
'न्याय अवरुद्ध र विचलनमा छ। यो काम प्रधान्यायाधीशले गर्नु भएको छ। उहाँले तत्काल राजीनामा दिनुपर्छ', श्रेष्ठले भने, 'न्यायापालिकालाई विवादित बनाउने काम प्रधानन्यायाधीशले गर्नु भयो। भोलिको कार्यक्रमपछि हामी सडकमा आउँछौं। त्यो अवस्थामा सम्मानपूर्वक के हुन्छ?'
उनले राणा जति न्यायालयको नेतृत्वमा बसे उति नै न्याय क्षेत्र धरासायी बन्ने समेत बताए।
'तत्काल राजीनामा दिनु सहज हुने कुरा ख्याल राख्नु होला। नेपाल बार चुप लागेर बस्दैन। हामी जनतासँगै सडकमा आउँछौं। २१ र २२ गते ९० वटा बार इकाईसँग छलफल गरेर सशक्त आन्दोलन गर्नेछौं', श्रेष्ठले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।