काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सम्मानजनक बहिर्गमनका लागि पठाएका प्रस्ताव सर्वोच्चका न्यायाधीशहरूले अस्वीकार गरेका छन्।
सोमबार साँझ न्यायाधीशहरू अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोज शर्मासँगको छलफलपछि प्रधानन्यायाधीश राणाले विभिन्न तीनवटा प्रस्ताव पठाएका थिए।
जसबारे न्यायाधीशहरूबीच मंगलबार सामूहिक छलफल भएको थियो। तर, न्यायाधीशहरूले राणाले आफूहरूका माग बेवास्ता गरेको, अल्मल्याउन खोजेको आरोप लगाएका छन्।
'उहाँले सम्मानजनक बहिर्गमनका लागि भनेर तीन विकल्प अघि सार्नुभएको थियो। हामीले त्यही अनुसार हिजो बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्यौं', एक न्यायाधीशले भने, 'पहिलो कुरा त ती विकल्प हाम्रा लागि मान्य हुने खालकै थिएनन्। उहाँले अल्मल्याउन मात्र तिनलाई अघि सार्नुभएको हो। हिजो हामीले बन्दी प्रत्यक्षीकरणका मुद्दा हेरेपछि उहाँले अव यिनिहरू मुद्दा हेर्न फर्किए भन्ने सन्देश दिन खोज्नुभयो। त्यसकारण हामी बन्दी प्रत्यक्षीकरणका मुद्दा समेत नहेर्ने दु:खद् निर्णय लिन बाध्य भयौं।'
थप निर्णय लिन न्यायाधीशहरूको बैठक अहिले सर्वोच्च अदालतमा जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।