काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसनको आन्दोलन तेस्रो दिन पनि जारी छ।
नेपाल बारले हातमा कालोपट्टी बाँधेर आइतबारदेखि आन्दोलन थालेको हो। मंगलबार पनि नेपाल बार एसोसिएसनको प्राङ्गणमा बारका पदाधिकारी र सदस्यहरुले ब्यानरसहित प्रदर्शन सुरु गरेका छन्।
आइतबारदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेको बारले पहिलो चरणमा भोलिसम्म आन्दोलनका कार्यक्रम तय गरेको छ।
आन्दोलनमा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीशले राजीनामा दिनुको विकल्प नरहेको बताए। उनले प्रधानन्यायाधीश पद जागिर नभएर उच्च नैतिकताको पद नभएको उल्लेख गर्दै नैतिकता गुमेपछि राजीनामा दिनुको विकल्प नरहेको बताए।
उनले एकमात्र अजेण्डा राणाको राजीनामा भएको बताउँदै राजीनामा नदिए संसद्को दायित्व हुने उल्लेख गरे।
'यो पद जागिर हैन। पद वा आलोपालोको लडाइँ होइन। एकमात्र अजेन्डा राजीनामा हो। नत्र संसद्को दायित्व हुन्छ। म संसद्लाई आग्रह गर्दछु', अर्यालले भने।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।