फाइल तस्बिर
काठमाडौं- प्रदेश एकमा सत्ता गठबन्धनका तर्फबाट ५० सांसदसहित मुख्यमन्त्रीमा दाबी गरेका नेकपा एकीकृत समाजवादी प्रदेश १ का संसदीय दलका नेता राजेन्द्र राईको शपथको तयारी गरिएको छ।
मुख्यमन्त्रीबाट एमाले नेता भीम आचार्यले राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी 'प्यासी'ले आज दिउँसो १ बजेसम्म दाबी पेस गर्ने समय उपलब्ध गराएका थिए। उनले सूचना जारी गरेको केहीबेरमै राईले मुख्यमन्त्रीको दाबी पेस गरेका थिए।
राई नेतृत्वको सरकारमा गठबन्धनका चार पार्टीबाट एक/एक जना नेतालाई मात्रै मन्त्री बनाउने तयारी गरिएको छ।
‘मुख्यमन्त्री राजेन्द्र राई कमरेडको आज नै नियुक्ति र शपथ हुन सक्ने सम्भावना छ। त्यसो हुँदा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एक/एक जनाले मात्रै मन्त्रीको शपथ लिनुहुन्छ होला’ राई निकट एक सांसदले भने,‘चार पार्टीबाट एक/एक जनाले मन्त्रीको शपथ लिएपछि मन्त्रिपरिषद्लाई विस्तारै पूर्णता दिने तयारी छ।’
बहुमतका लागि प्रदेश सभामा ४७ सांसद आवश्यक पर्दछ। प्रदेश सभामा कूल ९२ सांसद छन्। गठबन्धनका पक्षमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका तीन र लोकतान्त्रिक समाजवादीका एक सांसद छन्।
सोमबार प्रदेश सभा बैठकमा सम्बोधन गर्दै आचार्यले राजीनामा घोषणा गरेका थिए। आचार्य गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका थिए। एमाले अब प्रमुख प्रतिपक्ष हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।