काठमाडौं– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज (सोमबार) पदबाट राजीनामा दिने भएका छन्।
राजीनामा दिनु अगाडि मुख्यमन्त्री शाहीले बेलुका ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठकमा सबै मन्त्रीहरुलाई उपस्थित हुन निर्देशन दिएको छ।
सरकारका एक मन्त्रीका अनुसार मुख्यमन्त्री शाहीले आजै राजीनामा दिने तयारी गरेका छन्। राजीनामा दिनु अगाडि सबै मन्त्रीहरुलाई धन्यवाद दिन मन्त्रिपरिषद्को बैठक बोलाइएको ती मन्त्रीको भनाइ छ।
यसअघि विश्वासको मत लिने क्रममा मुख्यमन्त्री शाहीले कांग्रेससँग सत्ता साझेदारीको 'सम्झौता' गरेका थिए। कांग्रेससँगको सम्झौताअनुसार नै मुख्यमन्त्री शाहीले राजीनामा दिने भएका हुन्।
कर्णालीमा अब कांग्रेस नेतृत्वमा सरकार गठन हुने भएको छ। कांग्रेसबाट जीबनबहादुर शाही मुख्यमन्त्री हुने जनाइएको छ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएपछि साबिककै दलका रुपमा पुन:स्थापित भएका नेकपा माओवादी केन्द्र र नेकपा एमालेले कर्णालीमा सत्ता साझेदार थिए। एमालेले पछि मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएको थियो।
एमालेले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिने क्रममा मुख्यमन्त्री शाहीलाई नेपाली कांग्रेसका सबै र नेकपा एमालेका ४ सांसदले समेत समर्थन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।