काठमाडौं- प्रदेश एकमा सत्ता गठबन्धनबाट प्रस्ताव गरिएका मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारमा चार पार्टीबाट एक/एक जना नेतालाई मात्रै मन्त्री बनाउने तयारी गरिएको छ।
मुख्यमन्त्रीबाट एमाले नेता भीम आचार्यले राजीनामा दिएपछि सत्ता गठबन्धनले एकीकृत समाजवादीका संसदीय दलका नेता राईको नाम टुंगो लगाएको छ।
प्रदेश प्रमुखले सरकार गठनका लागि आजै आह्वान गर्ने र त्यसमा गठबन्धनका तर्फबाट राईले सरकारको दाबी गर्नेछन्।
‘मुख्यमन्त्री राजेन्द्र राई कमरेडको भोलि नै नियुक्ति र शपथ हुन सक्ने सम्भावना छ। त्यसो हुँदा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एक/एक जनाले मात्रै मन्त्रीको शपथ लिनुहुन्छ होला’ राई निकट एक सांसदले भने,‘चार पार्टीबाट एक/एक जनाले मन्त्रीको शपथ लिएपछि मन्त्रिपरिषद्लाई विस्तारै पूर्णता दिने तयारी छ।’
प्रस्तावित मुख्यमन्त्री राईलाई कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक जना प्रदेश सभा सदस्यको समर्थन रहेको छ।
सोमबार प्रदेश सभा बैठकमा सम्बोधन गर्दै आचार्यले राजीनामा घोषणा गरेका हुन्। आचार्य गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका थिए। प्रदेश सभामा एमाले औपचारिक विभाजन हुनुअघि उनी एकल बहुमतको आधारमा मुख्यमन्त्री नियुक्त भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।