काठमाडौं- प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन्। सोमबार प्रदेश सभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन्। उनले आफूलाई सहयोग गर्ने दलहरुलाई धन्यवाद दिँदै राजीनामा ग।
'हाम्रो अंकगणित मेल नखाएको र हामी संविधानको धारा १६८ (२) को अवस्थामा नरहेको हुनाले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएको घोषणा गर्दछु', उनले भने।
आफ्नो सम्बोधनको महत्त्वपूर्ण हिस्सा उनले दल विभाजनका ल्याइएको अध्यादेशको विरोधमा खर्चिएका थिए।
'नयाँ सरकार सुरु देखि नै राजनीतिक गञ्जागोलले अप्ठ्यारो स्थितिमा पार्यो। अस्थिरताका बाबजुद विगतका सरकारले गरेका राम्रा कामलाई अगाडि बढाउने र नयाँ कामलाई अगाडि बढाउने काम गर्यो', सम्बोधनका क्रममा उनले भने।
उनले एमाले विभाजन भएपछि नै आफूले राजीनामा दिन चाहेको भए पनि जनताको कामको चाङ रहेको र जनताको अपेक्षा पनि सरकार स्थिर नै रहोस् भन्ने रहेकाले आफूले त्यतिबेला राजीनामा नदिएको बताए।
उनले संसद्भित्रको अंकगणित र जनताको अपेक्षा फरकफरक भएको बताए। आचार्यले अहिले पनि सबै दलहरु मिलेर देश निर्माण गर्नुको विकल्प नभएको बताए। 'मिलेर जानुको विकल्प छैन। लडाइँ झगडा गर्नुको औचित्य छैन', उनले भने।
उनले आगामी सरकारले गर्ने राम्रा कामका लागि एमालेले सहयोग र नराम्रो काम गरे आलोचना गर्ने बताए।
आचार्य गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका थिए। प्रदेश सभामा एमाले औपचारिक विभाजन हुनुअघि उनी एकल बहुमतको आधारमा मुख्यमन्त्री नियुक्त भएका थिए।
मुख्यमन्त्री आचार्यले भदौ २५ गते विश्वासको मतका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए। उनले कात्तिक ५ गते प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए। प्रस्तावमाथि ७ गते नै छलफल गर्ने र मत विभाजन गर्ने समझदारी भए पनि त्यस दिन बैठक सुरु हुनुअघि कांग्रेस र एमालेले बैठक स्थगित गर्न सभामुखलाई पत्र बुझाएका थिए। सोही अनुसार कात्तिक १५ गतेका लागि बैठक स्थगित भएको थियो।
संघीय सरकारमा समेत गठबन्धन बनाएका कांग्रेस, माओवादी केन्द्र तथा एकीकृत समाजवादी लगायतका दलहरुले एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्ने सहमति गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।