काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै 'आन्दोलन'मा रहेका न्यायाधीशहरु मुद्दाको सुनुवाइका लागि इजलासमा फर्किने भएका छन्। प्रधानन्यायाधीशविरुद्ध आन्दोलन घोषणा गरेका न्यायाधीशहरु ८ दिनपछि इजलासमा फर्किन तयार भएका हुन्।
आन्दोलनरत न्यायाधीशहरुको सोमबार बसेको बैठकले आन्दोलन जारी राख्दै बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्ने 'निर्णय' गरेको छ।
सोमबारको निर्णयानुसार अब आफूहरु बन्दी प्रत्यक्षीकरणका मुद्दाहरु हेर्नका लागि इजलासमा फर्किने आन्दोलनरत एक न्यायाधीशले नेपाल लाइभलाई जानकारी दिए।
कार्यकारी प्रमुख (प्रधानमन्त्री)सँग विभिन्न नियुक्ति (मन्त्रिपरिषद्)मा समेत हिस्सा खोजेको, पेसी तोक्दा नियत राखेको, आफू विरुद्धको मुद्दाको सुनुवाइ सारेको, अदालतमा देखिएका विकृति, विसंगति हटाउन भूमिका नखेलेको भन्ने आरोप लगाउँदै सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आएका छन्।
सर्वोच्चका न्यायाधीशहरुले गत आइतबार चिया समयपछि इजलास बहिस्कार गरेका थिए। सर्वोच्चका २० जना न्यायाधीशमध्ये १९ जनाले जबराको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।