मुख्यमन्त्री महेन्द्रबहादुर शाही र कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही।
काठमाडौं– नेपाली कांग्रेसले कर्णालीमा सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रलाई सरकार छाड्न आज अपरान्ह ४ बजेसम्मको समयसीमा दिएको छ। माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीले पूर्वसहमति अनुरुप आज सत्ताको नेतृत्व हस्तान्तरण गर्नुपर्ने कांग्रेसको माग छ।
वर्तमान सरकारमा मन्त्रीको हिस्सेदारी बढाएर सहकार्य गर्ने पक्षमा कांग्रेस देखिएको छैन। प्रदेश सरकारमा कांग्रेसका दुई मन्त्री छन्। कांग्रेस सांसद हिमबहादुर शाहीले नेपाल लाइभसँग भने, ‘आज ४ बजेसम्म माओवादीबाट के जवाफ आउँछ कुर्छौं। मुख्यमन्त्रीले राजीनामा नदिए पार्टीभित्र छलफल गरेर निर्णय लिन्छौं।’
मुख्यमन्त्री शाहीले आज राजीनामा नदिए कांग्रेसको भोलि (मंगलबार) बिहान बैठक बसेर निर्णय गर्ने कांग्रेस सांसद शाहीले जानकारी दिए। ‘अहिलेसम्म माओवादीले एस/नो केही भनेको छैन’, कांग्रेस सांसद शाहीले भने, ‘माओवादीले इमान्दारिता देखाएन भने सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं।’
माओवादीले केन्द्रको निर्देशन कुरेर सत्ता छोड्न आलटाल गरेको कांग्रेसको बुझाइ छ। वर्तमान सरकारमा सहभागी भएर यसैलाई निरन्तरता दिने पक्षमा कांग्रेसका प्रदेश सांसद देखिएका छैनन्। कर्णालीमा दुई दलबीच देखिएको विवादका सन्दर्भमा केन्द्रमा कुरा नभएको कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए।
कांग्रेस र तत्कालीन एमालेका (माधव नेपाल पक्ष) सांसदले दिएको विश्वासको मतको आधारमा शाहीले मुख्यमन्त्रीमा निरन्तरता पाएका थिए। हाल समाजवादीमा रहेका अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही संवैधानिक व्यवस्था अनुसार आज मन्त्रीबाट पदमुक्त हुँदैछन्। एमालेले कारबाही गरेपछि उनीहरू गैरसांसदका रूपमा मन्त्री बनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।