काठमाडौं– वर्तमान सरकार जनताको साथमा रहेको सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको भनाइ छ। सुनसरीको हरिनगर गाउँपालिका–४ मा आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा निर्माण भएको गठबन्धनको सरकार जनताको सुखदुःखको सहयात्री रहेको बताएका हुन्।
आगामी चैतमा हुने स्थानीय तहको निर्वाचन र माघमा हुने राष्ट्रियसभा निर्वाचनमा सबै मिलेर नेपाली कांग्रेस बलियो बनाउनका लागि लाग्नुपर्नेमा उनले जोड दिए।
फरक प्रसङ्गमा मन्त्री कार्कीले पार्टीका १४औँ अधिवेशन निर्धारित मितिमै सम्पन्न हुने बताए। पार्टीको अधिवेशनलाई सफल बनाउन आग्रह गर्दै उनले बाँकी रहेको पार्टीको विभिन्न तहको अधिवेशनमा सर्वसम्तरुपमा पदाधिकारी चयन गर्ने वातारण बनाउनुपर्नेमा जोड दिए।
विभिन्न तहको निर्वाचनसमेत नजिकिँदै गएकाले पार्टीलाई बलियो र एकढिक्का बनाएर अगाडि बढनुको विकल्प नरहेको उनको भनाइ थियो। आगामी निर्वाचनमा पार्टीलाई एकढिक्का बनाएर अगाडि बढ्न सबै स्थानीय नेता तथा कार्यकर्तालाई उनले आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।