काठमाडौं- तिहार पर्व नजिकिएसँगै फूलखेती गरेका किसानहरु फूल टिप्ने काममा व्यस्त हुन थालेका छन्।तिहारमा माग धेरै हुने गरेकाले फूल टिप्ने र बजारसम्म पुर्याउने कार्यमा उनीहरुको व्यस्तता बढ्न थालेको छ।
यस्तै चटारोमा छन् राजधानीको इचङ्गुनारायणका किसानहरु। उनीहरुले तिहारका लागि सयपत्री फूल टिप्न थालेका छन्।
यस वर्ष फूलखेती राम्रो नै भएको तर बेमौसमी वर्षाका कारण फूलमा कालो दाग लाग्न थालेपछि धेरै व्यापार हुने तिहारअघि नै टिपेर बेच्नुपरेको फूल किसान बताउँछन्।
पहिला-पहिला धान, कोदो र मकैखेती गरेर जीविकोपार्जन गर्ने यहाँका स्थानीयले फूलको व्यवसाय फस्टाउन थालेपछि व्यावसायिक खेती गरेर बेच्न थालेका हुन्। यसबाट उनीहरुले राम्रो कमाइ गर्ने गरेका छन्।
तर, भारतबाट आउने सस्तो फूलसँग प्रतिस्पर्धा गरेर बेच्नुपर्ने बाध्यता रहेको उनीहरुले गुनासो गरेका छन्। तिहारलाई लक्षित गरी ठूलो मात्रामा भारतबाट फूल आयात हुने गरेको छ। स्वदेशकै फूलले माग धान्ने भए पनि भारतबाट हुने आयात नरोकिएको किसानहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।