काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा देखिएको समस्याबारे राजनीतिक दलले निर्णय लिनुपर्ने बेला भइसकेको बताएका छन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै सर्वोच्च अदालतकै न्यायाधीश र बार एसोसिएशन आन्दोलमा रहेको उल्लेख गर्दै नेता पौडेलले सर्वोच्चको समस्या समाधानका लागि निर्णय लिनेबेला भइसकेको बताए। आइतबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले सर्वोच्चको समस्या समाधानका लागि आफूले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग कुराकानी गरेको पनि बताए।
देशमा परस्थिति सहज नभएको उल्लेख गर्दै नेता पौडेलले लोकतन्त्रमा एकपछि अर्को गरी संस्थाहरू कमजोर बन्दै गएको बताए।
'देशमा परिस्थिति सहज छैन। एकातिर संसद राम्रोसँग चल्न सकेन। अर्कोतिर अदालतको त्यो अवस्था छ। लोकतन्त्रमा एक पछि अर्को गरी संस्थाहरू कमजोर हुँदै गएका छन्,' पौडेलले भने।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुन:स्थापनाको फैसला सुनाउने अन्य ४ जना न्यायाधीशलाई पनि प्रधानन्यायाधीश सरह मूल्याङ्कन गरेको भन्दै नेता पौडेलले आपत्ति जनाए।
'ओलीजीले ४ न्यायाधीशलाई पनि प्रधानन्यायाधीश सरह मूल्याङ्कन गर्नुभएको छ। उहाँले गलत बोल्नु भएको छ,' पौडेलले भने।
ओलीले न्यायाधीशमाथि प्रश्न उठाउने नैतिकता ओलीमा नभएको पनि पौडेलले टिप्पणी गरे। 'उहाँले अदालतमा सेटिङ गरेको देखिरहेका हौं। न्यायाधीशमाथि किन उहाँले प्रश्न उठाउने?' पौडेलले प्रश्न गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।