फाइल तस्बिर
काठमाडौं- पूर्वराष्ट्रपति डा. रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।
पूर्वराष्ट्रपति यादवले न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा निस्किएर राष्ट्रकै बेइज्जत गरेको टिप्पणी गरे।
‘बीपी विचार, नीति र व्यवहार’ नामक पुस्तक सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै उनले न्यायका प्रतिष्ठित व्यक्तिहरु तथा कानुनविद्हरुसँग सल्लाह गरेर न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गरे।
'संविधानविद्हरु, कानुनविद्हरु एकातिर छ। यस्तो अवस्थामा प्रधानन्यायाधीश भन्छ कि म छोडदिनँ। केही नभए पनि एक्लै बेञ्चमा बस्छ। कसको तागतमा?,' पूर्वराष्ट्रपति यादवले भने, 'सरकार देशको प्रतिनिधि हो। सरकारले आफ्नो 'ट्र्याक टू डिप्लोमेसी'बाट न्यायका प्रतिष्ठित व्यक्तिहरु, कानुनविद्हरुसँग सल्लाह गरेर ती समस्यालाई हल गर्नु पर्दैन? कानुनमन्त्री जसले ल्याण्ड गर्न सक्दैन? आज संसारको सामुन्य न्यायालयको अवस्था यस्तो छ। तर सम्माननीय प्रधानमन्त्री बेलायत जानुभएको छ। यस्तो अवस्थामा हामी संसारसामू टाउको देखाउन सक्छौं?’
उनले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति पनि असन्तुष्टि जनाएका छन्। उनले संविधानमा नभएको संसद् भङ्ग गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा राष्ट्रपति भण्डारीले साथ दिएकोमा असन्तुष्टि व्यक्त गरेका हुन्। पूर्वराष्ट्रपति यादवले संविधानको कार्यान्वयन गर्न दलहरु गम्भीर नभएकोमा चिन्तासमेत व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।