काठमाडौं- सर्वोच्च अदालतले सैनिक जवानले गरेको हत्यासम्बन्धी मुद्दालाई सैनिक अदालतमा सुनुवाइ गर्न पठाउने उच्च अदालत र जिल्ला अदालतको आदेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीशहरुको आन्दोलन चलिरहेकै समयमा आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो एकल इजलासबाट उक्त अन्तरिम आदेश जारी गरेको हुन्।
चितवन जिल्ला अदालत र त्यसलाई सदर गर्ने पाटन उच्च अदालतको हेटौंडा इजलासको आदेश कार्यान्वयन नगर्न राणाको एकल इजलासले आदेश दिएको छ।
यसअघि सैनिक जवानले गरेको हत्यासम्बन्धी मुद्दा जिल्ला अदालतले सुनुवाइ गर्नुपर्ने कानुनी व्यवस्था रहेकोमा सैनिक अदालतमा पठाउने निर्णग गरिएको थियो। उच्चले जिल्ला अदालतको सोही आदेश सदर गरेको थियो। दुवै निर्णय बदर हुनुपर्ने माग गर्दै महान्यायाविधक्ता कार्यालयले सर्वोच्च अदालतमा कात्तिक ७ गते रिट दर्ता गरेको थियो। उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतका आदेशहरू कार्यान्वयन नगरी यथास्थितिमा राख्न भनेको छ।
नेपाली सेनाको ‘द फेमस महिन्द्र दल गण’ शिवपुरीमा कार्यरत जवान गंगाराम ढकालले सोही गणका हुद्दा भरत गुरुङलाई गत साउन ७ मा चितवनको भरतपुर-१७ मा गोली हानी हत्या गरेका थिए। त्यसमा प्रहरीले अनुसन्धान गरेर जिल्ला सरकारी वकिलको कार्यालयले चितवन जिल्ला अदालतमा हत्यासम्बन्धी मुद्दा चलाएको थियो। उक्त मुद्दा जिल्ला अदालतले सैनिक अदालतको क्षेत्राधिकार भनी पठाएपछि विवाद भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।