काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्चका न्यायाधीशहरुले आन्दोलन सुरु गरेको आइतबार १ हप्ता पुगेको छ। गत आइतबार (कात्तिक ७ गते) चिया समयपछि इजलास बहिस्कार गरेर सर्वोच्चका १४ जना न्यायाधीशले छुट्टै छलफल गरेका थिए।
कार्यपालिका प्रमुख (प्रधानमन्त्री)सँग मन्त्रिपरिषद् तथा अन्य नियुक्तिमा हिस्सा खोजेको, पेसी तोक्दा 'नियत' राखेको, आफू विपक्षी भएको मुद्दाको सुनुवाइ सार्दै आएको तथा अदालतमा देखिएका विकृति, विसंगति हटाउन भूमिका नखेलेको भन्दै सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने निष्कर्ष निकालेका थिए।
मंगलबार जबरालाई भेटेर १५ जना न्यायाधीशले उनको राजीनामा मागेका थिए। जवाफमा प्रधानन्यायाधीश जबराले आफूले 'कुनै पनि हालतमा' राजीनामा नदिने बताएका थिए। सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदा पनि जबराले राजीनामा नदिने बताएका थिए।
तर, सर्वोच्चमा आन्दोलन सुरु भएको १ हप्ता पुग्दा जबराले आफ्नो अडान फेरेका छन्। आफूनिकट न्यायाधीशमार्फत जबराले 'सम्मानजनक बहिर्गमन'को प्रस्ताव अगाडि सारेका छन्।
आइतबार जबराले आफूनिकट न्यायाधीश मनोज शर्मामार्फत आफूले ‘सम्मानजक बर्हिगमन’ चाहेको प्रस्ताव पठाएपछि आन्दोलनरत न्यायाधीश अलमलमा परेका छन्। जबराले अहिले दुई पक्षका बीचमा वार्तासमेत अवरुद्ध भएको र यसले निकास नदिने भएकाले वार्ता पनि जारी राख्न र आफ्नो बर्हिगमनको विकल्पहरु पनि सुझाउन न्यायाधीश शर्मामार्फत् प्रस्ताव पठाएका थिए ।
नेपाल बार एसोसियशनले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च परिसरमै कालो पट्टी बाँधेर आन्दोलनका कार्यक्रम सुरु गरेपछि थप दबाबमा परेका जबराले आइतबार सम्मानजनक बहिर्गमनको प्रस्ताव राखेका हुन्।
बारले आन्दोलन चर्काउँदै गएको अवस्थामा 'केही निकास दिने' भन्दै आन्दोलनरत न्यायाधीशबीच आइतबार सर्वोच्चमा छलफल सुरु भएको थियो। छलफल चलिरहेकै अवस्थामा न्यायाधीश शर्मामार्फत् जबराको प्रस्ताव आएको थियो।
‘हामी आज जे भएपनि निकास दिने भनि छलफलमा थियौं,’ एक न्यायाधीशले नेपाल लाइभसँग भने, ‘तर प्रधानन्यायाधीशले वार्ता जारी राख्ने र सम्मानजक बर्हिगमनको प्रस्ताव पठाएपछि तीन न्यायाधीशको वार्ता समिति वनाएर एक पटक कुरा गरौं भन्ने मनसायमा पुगेका हौं।’
प्रधानन्यायाधीश जबरासँग वार्ता गर्नका लागि न्यायाधीशहरु सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्माको समिति (वार्ता टोली) बनाइएको छ। आन्दोलनरत न्यायाधीशहरुको वार्ता टोलीले आइतबार नै प्रधानन्यायाधीशसँग 'पहिलो चरण'को छलफल गरेको छ।
आइतबारको छलफल कुनै निष्कर्षमा नपुगेको एक न्यायाधीशले जानकारी दिए। सोमबार बिहान फेरि छलफल हुने जानकारी प्राप्त भएको ती न्यायाधीशको भनाइ छ।
‘प्रधानन्यायाधीशसँगको छलफलमा के–के कुरा भयो भनेर सबै जानकारी त पाएका छैनौं,’ ती न्यायाधीशले भने, ‘वार्ता नै नगर्ने भन्ने कुरा भएन। सम्मानजक बर्हिगमनको कुरा हामीले पनि उठाएको र उताबाट पनि त्यस्तै प्रस्ताव आएपछि किन नाइँ भन्नु र!'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।