काठमाडौं- प्रदेश १ को विपक्षी गठबन्धनले मुख्यमन्त्री भीमप्रसाद आचार्यलाई विश्वासको मत नदिने निर्णय गरेको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले आज मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्ने निर्णय गरेका हुन्।
गठबन्धनमा रहेका ती दलहरुको आइतबार बसेको बैठकले मुख्यमन्त्री आचार्यले विश्वासको मत माग्ने प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।
आइतबार विराटनगरमा बसेको बैठकले आचार्यले विश्वासको मत लिँदा एकजुट भएर विपक्षमा मतदान गर्ने निर्णय गरेको माओवादी केन्द्रको संसदीय दलका नेता इन्द्र आङबोले जानकारी दिए।
‘मुख्यमन्त्री अचार्यले भोलि सोमबार विश्वासको मत लिने निर्णय गर्नुभएको छ। गठबन्धनको बैठकले विश्वासको मत माग्ने प्रस्तावको विपक्षमा एकजुट भएर मतदान गर्ने निर्णय गरेको छ,' आङबोले भने।
आङबोका अनुसार सोमबार नै एकीकृत समाजवादीका सचिव एवं प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष निवेदन दिने निर्णयसमेत गठबन्धनको बैठकले गरेको छ।
तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि उक्त प्रदेशमा नेकपा (एमाले)का आचार्य मुख्यमन्त्री बनेका थिए। तर, एमालेबाट विभाजन भइ नेकपा (एकीकृत समाजवादी) गठन भएपछि आचार्य अल्पमतमा परेका थिए।
अल्पमतको सरकार चलाइरहेका आचार्यले प्रदेश सभामा विश्वासको मत पाउने सम्भावना न्यून छ। आचार्यले विश्वासको मत जुटाउन नसके गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका राई मुख्यमन्त्री बन्ने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।