काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्षमा माधवकुमार नेपालले प्रधानमन्त्रीनिवास बालुवाटारभित्र हेलिप्याड बनाइएकोमा असन्तुष्टि जनाएका छन्। उनले त्यसका लागि करोडौं रुपैयाँ खर्च गरिएको भन्दै विरोध जनाएका हुन्।
'मैले पर्यटनमन्त्रीलाई पनि भनेँ- तपाईं जहाँ पायो त्यहीँ एयरपोर्ट बनाउने कुरा नगर्नुस्। अहिले त प्रत्येकलाई आफ्नो गाउँमै एयरपोर्ट चाहिएको छ,' आइतबार नेपाल समाजवादी इन्जिनियरिङ एसोसियसन नेपालको प्रथम राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले भने, 'हुँदाहुँदा यस्तो गरिब देश नेपाल छ, बालुवाटारमा हेलिप्याड! त्यो त मलाई थाहा पनि थिएन। अस्ति पो थाहा भयो। त्यहाँबाट १० मिनेटमा एयरपोर्ट पुगिन्छ। अनि करोडौं रुपैयाँ खर्च गर्ने हो?'
अध्यक्ष नेपालले राष्ट्रपतिनिवासमा पनि हेलिप्याड बनाउने कुरा भइरहेको आफूले सुनेको भन्दै त्यसप्रति पनि प्रश्न उठाए। 'म त्यसको विरोधी हुँ। त्रिभुवन विमानस्थल जानुपर्छ, टाढा पनि छैन,' उनको भनाइ छ, 'जनताको पसिनाबाट आएको एकएक पैसा सदुपयोग कसरी गर्ने भन्ने कुराको चिन्ता चासो छैन। त्यसैले पहिले चिन्ता हुनुपर्यो। मन पोल्नुपर्यो। देश बनाउने आँट र जाँगर हुनुपर्यो।'
उनले आफूले प्रधानमन्त्री शेरबहादुर र प्रचण्डलाई पनि हाम्रो देश किन बनेन भनेर अजेण्डा बनाऔं भनेको बताए। 'कहाँ रहेको छ समस्या? प्लानिङ हेर्नुस् न, अहिले पानी जहाज कम्पनी चाहिन्छ? गफाडीको गफ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।