काठमाडौं– पदबाट राजीनामाको दबाब खेप्दै आएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतबार आफ्नो एकल इजलासमा मुद्दाको सुनुवाइ सुरु गरेका छन्। आइतबार आफूसहित ४ एकल र ८ संयुक्त गरी १२ इजलास तोकेका राणा अन्तिम समयमा मुद्दाको सुनुवाइका लागि इजलासमा गएका हुन्।
सहकर्मी न्यायाधीशहरुलाई चिया समयसम्म कुरेका राणाले न्यायाधीशहरु नआएपछि करिव ३ वजे इजलासमा आउने जानकारी इजलास अधिकृतलाई गराएका थिए। राणाले आइतबार आफूसहित न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलास पनि तोकेका थिए।
पहिले संयुक्त इजलास बस्ने 'न्यायीक परम्परा'अनुसार राणाले सहकर्मी न्यायाधीश रेग्मीलाई कुरेका थिए। तर, रेग्मी अन्य न्यायाधीशहरुसँग छलफलमा रहेका कारण इजलासमा आएनन्। चिया समयसम्म संयुक्त इजलासका लागि रेग्मीलाई कुरेका राणाले त्यसपछि भने आफ्नो एकल इजलासमा सुनुवाइ थालेका हुन्।
राणाको एकल इजलासमा दुई थान निवेदन रहेका छन्। चितवनको नेपाली सेनाको अधिकार क्षेत्रसम्बन्धी विवादमा महान्यायाधीवक्ता कार्यालयले दर्ता गरेका निवेदन र अर्को एक उत्प्रेषण मुद्दा रहेको छ।
प्रधानन्यायाधीश राणाको राजीनामाको माग गर्दै कानुनविद्हरुले आइतबार पनि सर्वोच्च परिसरमा आन्दोलन गरेका थिए। बारले राणालाई वुधबारसम्म राजीनामा दिन अल्टिमेटम दिएको छ।
गत आइतबारको चिया समयपछि इजलास 'बहिस्कार' गरेका अन्य न्यायाधीशहरु भने छुट्टै छलफलमा छन्। कार्यपालिका प्रमुख (प्रधानमन्त्री)सँग मन्त्रिपरिषद् तथा अन्य नियुक्तिमा हिस्सा खोजेको, पेसी तोक्दा नियत राखेको, आफू विपक्षी भएको मुद्दाको सुनुवाइ सार्दै आएको तथा अदालतमा देखिएका विकृति, विसंगति हटाउन भूमिका नखेलेको भन्दै सर्वोच्च अदालतका २० जना न्यायाधीशमध्ये १९ जनाले राणाविरुद्ध 'आन्दोलन' थालेका छन्।
आन्दोलनमा रहेका न्यायाधीशहरुले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आएका छन्। राणाले भने राजीनामा नदिने बताउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।