काठमाडौं- पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेज गर्न माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले विरोध प्रदर्शन गरेको छ।
आइतबार टेकुस्थित नेपाल आयल निगमको कार्यालय अगाडि अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको हो।
प्रदर्शनका क्रममा वैद्यनिकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले पट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता गर्नुपर्ने बताए। उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकार र नेपाल आयल निगमले जनताको पसिना लुट्नलाई गरेको भन्दै तत्काल निर्णय फिर्ता नलिए आयल निगमका अधिकारीहरुलाई मोसो दल्न पछि नपर्ने चेतावनी दिए।
अध्यक्ष गजुरेलले सरकार नेपाली जनताप्रति जवाफदेही नभएको आरोप लगाउँदै सरकारले जनताको पसिना लुटेर स्वार्थपूर्तिका लागि काम गरेको र सत्ता टिकाउन केन्द्रित भएको आरोप लगाए। उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको निर्णय सरकारले तत्काल फिर्ता नलिए नेकपा (क्रान्तिकारी माओवादी) र अखिल (क्रान्तिकारी)ले आन्दोलनको आँधी ल्याउने चेतावनी दिए।
आयल निगमले शुक्रबार राति सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो। त्यसैको विरोधमा छ विद्यार्थी संगठनले निर्णय फिर्ता नलिए देशभर आन्दोलन गर्ने घोषणा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।