काठमाडौं– पदबाट राजीनामा दिनुपर्ने माग उठिरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतबारका लागि तोकेका इजलासमा कुनै पनि मुद्दाको सुनुवाइ हुन सकेन।
प्रधानन्यायाधीश राणाले आइतबारका लागि संयुक्त र एकल गरी १२ वटा इजलास तोकेका थिए। राणाले आफू बाहेकका न्यायाधीशका लागि ७ वटा संयुक्त तथा ३ वटा एकल इजलास तोकेका थिए।
राणाले आइतबारका लागि २ वटा पूर्ण इजलास समेत तोकेका थिए। एउटा पूर्ण इजलास उनको एकल थियो भने अर्को न्यायाधीश कुमार रेग्मीसँगको संयुक्त छ।
तर, आइतबार शुरुवाती अदालती समयमा कुनै पनि इजालसमा मुद्दाको सुनुवाइ अगाडि बढेन। सर्वोच्चमा हाल रहेका २० जना न्यायाधीशमध्ये १९ जना न्यायाधीश राणाको राजीनामाको माग गर्दै 'आन्दोलनमा' छन्।
आन्दोलनमा रहेका न्यायाधीशले १ हप्ता यता मुद्दाको सुनुवाइमा सहभागिता जनाएका छैनन्। अरु न्यायाधीशहरुले इजलास बहिस्कार गरेपनि प्रधानन्यायाधीश राणाले भने आफ्नो इजालसमा मुद्दा हेर्दै आएका थिए।
तर, आइतबार राणा पनि इजलासमा गएका छैनन्। आइतबार राणाले आफू र न्यायाधीश रेग्मीको संयुक्त (पूर्ण) इजलासमा ११ वटा मुद्दाको पेसी तोकेका छन्। यस्तै, आफ्नो एकल इजलासमा २ वटा मुद्दाको पेसी तोकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।