काठमाडौं– जनकपुरका स्थानीय जनप्रतिनिधिहरुले मेयरको घरअघि फोहोर फाल्दै विरोध प्रदर्शन गरेका छन्।
चाड पर्वको अवसरमा समेत जनकपुरधाम उपमहानगरपालिकाले सरसफाइ गर्नमा ध्यान नदिएको भन्दै मेयर लालकिसोर साहको घरअघि स्थानीय जनप्रतिनिधिहरुले फोहोर फालेर विरोध गरेका हुन्। उनीहरुले मेयर साहलाई पटक–पटक फोहोर व्यवस्थापनका लागि आग्रह गर्दा समेत कुनै चासो नदिएको आरोप लगाएका छन्।
केही वडाध्यक्षहरुले नगरप्रमुख साहलाई कालोमोसो दल्ने चेतावनी समेत दिएका छन्। वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले उपमहानगरलाई दुर्गन्धित बनाउने गरी थुपारिएका फोहोर व्यवस्थापनलाई मेयर साहले बेवास्ता गरेको भन्दै मेयर साहलाई कालोमासो दल्ने चेतावनी दिए।
वडा नम्बर–१ का वडाध्यक्ष शत्रुधन साह, वडा नम्बर–३ का वडाध्यक्ष दिपेन्द्र साह, वडा नम्बर–४ का वडाध्यक्ष सुदर्शन सिंह र वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहलगायकाहरुले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय अगाडि धर्ना समेत दिएका छन्।
वडाध्यक्ष साहले भने, ‘हामीले यो भन्दा पहिला पनि धेरै पटक फोहोर व्यवस्थापन हुनुपर्छ भनेका थियौँ, तर मेयरसाबले फोहोर व्यवस्थापनका लागि कुनै चासो नै देखाउनु भएन। जनताप्रति उहाँले बेवास्ता गर्नुभयो।’
प्रहरीले नगरप्रमुख साहको घर अगाडि फोहोर फाल्न नदिएपछि उनीहरुले उपमहानगरपालिकाको कार्यालय अगाडिको बाटो जाम गरेर धर्नामा बसेका थिए। वडाध्यक्षहरुले फोहोर व्यवस्थापनका लागि चासो नदेखाएको, आफूहरुलाई ट्याक्टरसमेत उपलब्ध नगराएको र जनताप्रति बेवास्ता गरेको र मेयर भ्रष्टाचारमा मात्र केन्द्रित बनेको आरोप लगाएका छन्।
जनकपुरधाम उपमहानगर भित्रका विभिन्न वडामा थुपारिएको फोहोर व्यवस्थापनमा असहयोग गरेको भन्दै नगरप्रमुख साहप्रति जनप्रतिनिधिहरु पनि आक्रोशित बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।