काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केपी ओली नेतृत्वको अघिल्लो सरकारले गफमात्र छाँटेर समय व्यतित गरेको आरोप लगाएका छन्।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले विगतको सरकारले के गर्यो र गरेन भन्दा पनि वर्तमान सरकारले के गर्दै छ भन्ने कुरा महत्त्वपूर्ण हुने बताए। ओली सरकारले साढे तीन वर्ष गफमा बिताएको बताएका कार्कीले कांग्रेसको सरकार मुलुकको समृद्धि र विकासमा केन्द्रित रहेको दाबी गरे।
शनिबार सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रममा बोल्दै उनले केन्द्रमा बनेको गठबन्धनको सहमतिबमोजिम वर्तमान सरकार अघि बढेको बताए।
यसैबीच मन्त्री कार्कीले प्रदेश १ का प्रदेश सांसदहरुलाई पार्टी निर्णयविपरीत नजान निर्देशन दिएका छन्। मन्त्री कार्कीले प्रदेश सभामा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई पार्टी निर्णयको अक्षरस पालना गर्न निर्देशन दिएका हुन्।
मन्त्री कार्कीले प्रदेश १ सरकारको प्रतिनिधित्वको विषयलाई लिएर केही कांग्रेस नेता तथा कार्यकर्ता ट्रयाकबाहिर जान खोजेको बुझिन आएको भन्दै त्यसो गरिए पार्टी हितविपरीत ठहरिने बताएका छन्।
प्रदेश १ को सरकार नेकपा (एकीकृत समाजवादी)को नेतृत्वमा बन्ने बताएका मन्त्री कार्कीले गठबन्धनको निर्णयबमोजिम मुख्यमन्त्री चयन हुने बताए।
कार्कीले नेपाली कांग्रेस गठबन्धनको निर्णयबमोजिम अघि बढ्ने भएकाले केही दिनभित्रै प्रदेश १ मा राजेन्द्र राईको नेतृत्वमै सरकार बन्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।